नेपाल समाचारपत्र,काठमाडौं
निर्माण व्यवसायी महासंघका अध्यक्ष्य शरदकुमार गौचनको सोमबार भएको हत्याको प्रति निजी क्षेत्रका उद्योगी व्यवसायीले घोर भत्र्सना गर्दै दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ् कमर्स, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघलगायत संस्थाहरूले छट्टाछुट्टै रूपमा प्रेस विज्ञप्ति जारी गर्दै गौचन हत्याकाण्डले उद्योगी व्यवसायीको सुरक्षा चुनौती र कमजोर सुरक्षा प्रणालीमा प्रश्नचिन्ह खडा भएको जनाएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ–‘शान्तिको श्वास फेर्न पाइन्छ कि भन्ने आशामा रहेका आम नेपाली जनतामा यस बर्बर घटनाले पुनः एकपटक झस्काइदिएको छ, उद्यमी व्यवसायी त्रसित हुन पुगेका छन्। सरकारलाई सबैभन्दा बढी राजस्व तिर्ने उद्यमी व्यवसायी वर्ग नै असुरक्षित हुँदा निजी क्षेत्र अत्यन्त दुःखित भएको छ।
जनताको सुरक्षा चासोमा सरकार गम्भीर नहुँदाको परिणामनै यो घटना भएको हाम्रो विश्लेषण छ।’ नेपाल चेम्बर अफ कमर्सले व्यवसायीको हत्या हुनुले निर्माण व्यवयासीहरू मात्रै होइन, नेपालका सम्पूर्ण उद्योगी व्यवसायीलाई नै मर्माहत तुल्याएको र देशभित्र उद्योगी व्यवसायीको सुरक्षा नहुँदा वैदेशिक लगानी समेत प्रभावित हुने र देशको आर्थिक समृद्धिको कल्पनासमेत गर्न नसकिने अवस्था देखा पर्ने सम्भावना रहेकाले सुरक्षा व्यवस्थाप्रति गम्भीर हुन सरकारलाई अनुरोध गरेको छ।
मुलुक क्रमशः राजनितिक स्थायित्वतर्फ गईरहेको र व्यवसायले प्राथमिकता पाउँदै गरेको अवस्थामा राजधानीको व्यस्त स्थानमा व्यवसायीको हत्या हुँदा सम्पूर्ण व्यावसायिक क्षेत्रमा पुनः त्रास र संशयको अवस्था सिर्जना भएको व्यवसायीहरूले बताएका छन्। यस प्रकारको अमानवीय कार्यले मुलुकमा विस्तारै बन्दै गरेको लगानीको वातावरणमा समेत नकारात्मक असर पुर्याउने उनीहरूको ठहर छ।
घटनामा संलग्न अपराधीहरूलाई तत्काल कानुनको कठघरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न तथा मुलुकभित्र शान्ति सुरक्षाको अवस्था मजबुत भएको आभास दिलाउन पनि उनीहरूले सरकारसँग माग गरेका छन्। गौचनको शव श्रद्धाञ्जलिका लागि भोलि नेपाल निर्माण व्यवसायी महासंघ कार्यालय अनामनगरमा राखिने भएको छ।
यसैबीच गौचनका आफन्त र निर्माण व्यवसायीहरूले हत्याको विरोध गर्दै बानेश्वरमा केहीबेर बिरोध प्रदर्शन तथा नाराजुलुस गरेका थिए। हत्यारालाई तत्काल पक्राउ गरी कारबारी गर्न तथा सुरक्षाको विषयमा सरकार गम्भीर हुननसकेको भन्दै उनीहरू आक्राशित देखिन्थे।
हत्यारालाई पक्राउ गरि तत्काल कारवाही नगरेसम्म देशभर निर्माण सम्बन्धि सबैकामहरूलाई ठप्प पार्ने नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ। महासंघका महासचिव रामशरण देउजाले उक्त घटनाबाट सबै व्यवसायीहरू त्रसित भएको र निर्माण व्यवसायीहरू सहरमा मात्र नभई कम सुरक्षा हुने विकट ठाँउहरूमा पुगेर काम गरिरहेकाले उनीहरूको सुरक्ष्ाँको प्रत्याभुति नभएसम्म काममा नजाने जनाएका छन।











प्रतिक्रिया