स्टेफेन्सको छलाङ



 

न्युयोर्क, (एजेन्सी)
गत आइतबार सम्पन्न यस वर्षको यूएस ओपन टेनिसअन्तर्गत महिला एकलको उपाधि अमेरिकाकी स्लोन स्टेफेन्सले हात पारिन्। उपाधि जित्ने क्रममा उनले आफ्नै देशकी मेडिसन किजमाथि ६–३ र ६–० को सेटमा विजय प्राप्त गरेकी थिइन्। ६१ मिनेटको प्रतिस्पर्धापछि २४ वर्षीय स्टेफेन्सले उक्त उपाधि चुमेकी थिइन्। स्टेफेन्सले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताभरि २२ वर्षीय मेडिसनको जित संख्यालाई तीन म्याचमा नै सीमित पारिदिएकी थिइन्। उपाधि जितेसँगै स्टेफेन्सले ३७ लाख अमेरिकी डलर पुरस्कार प्राप्त गरिन्।

स्टीफेन्सका लागि यूएस ओपन जित्नु कुनै अपत्यारिलो कथाभन्दा कम थिएन। प्रतियोगिता शुरु हुनुअघि स्टेफेन्स उपाधि जित्ने सम्भावनाबाट निक्कै टाढा थिइन्। तर असम्भव केही हुँदैन भन्ने उक्तिलाई उनले सार्थक गरेर देखाइदिइन्। गत वर्ष उनलाई फापेको थिएन। उनले निक्कै उतारचढावको सामना गर्नु परेकी थिइन्। जसका कारण उनी टेनिसबाट टाढा नै बसिन्। यसले उनको वरियतामा समेत निक्कै गिरावट आएको थियो। खुट्टाको शल्यक्रियाका कारण ११ महिनाको विश्राम पश्चात स्टेफेन्सले गत अगस्टमा मात्र टेनिस कोर्टमा पुनरागमन गरेकी हुन्। त्यतिबेला उनको वरियता ९ सय ५७ पुगेको थियो।

पुनरागमन पश्चात खेलिएको प्रतियोगिताको पहिलो खेलको पहिलो राउन्डमा नै उनी पराजित भएकी थिइन्। तर हिम्मत नहारेकी उनले त्यसपछि खेलेका दुई प्रतियोगिताको सेमिफाइनलसम्म स्थान बनाउन सफल भइन्। जसको कारण गत महिना उनले करिब ९ सय स्थान छलाङ मार्दै ८३औं स्थान ओगट्न सफल भइन्। योसँगै उनले वर्षको अन्तिम ग्रान्डस्लाम यूएस ओपनमा खेल्नका लागि स्थान पक्कासमेत गरेकी थिइन्। जहाँ अहिले उनी नसोचेको सफलताबाट विभूषित बनिसकेकी छिन्।

अहिले यूएस ओपनको उपाधि नै उचालिसकेपश्चात उनी २२औं वरियतामा पुग्ने अनुमान गरिएको छ। स्टेफेन्स ग्रान्डस्लाम जित्ने पाँचौ गैरवरियता प्राप्त महिला खेलाडी हुन्। यस्तै यूएस ओपन जित्ने उनी दोस्रो वरियताविहीन महिला खेलाडीसमेत बन्न सफल भएकी छिन्। यसअघि सन् २००९ मा बेल्जियमकी किम क्लाइस्टर्सले आफ्नो सन्यास फिर्ता लिएर पुनरागमन गरेपछि यूएस ओपनको उपाधि जितेकी थिइन्। त्यतिबेला क्लाईस्टर्स पनि वरियताविहीन नै थिइन्।

यसपटक यूएस ओपनको उपाधि जितेर स्टेफेन्सले इतिहास रचिन्। कुनै पनि ग्रान्डस्लामको इतिहासमा वरियताविहीन दुवै महिला खेलाडी पहिलोपटक फाइनलमा पुगेको यो सातौं अवसर हो। यति मात्रै होइन १५ वर्षपछि पहिलोपटक यूएस ओपनको फाइनलमा दुवै अमेरिकी महिला खेलाडी पुगेको यो पहिलो अवसर पनि हो। सेमिफाइनलमा यी दुवैले आफ्नै देशकी खेलाडीलाई पराजित गरेकी थिइन्। स्टेफेन्सले भेनस विलियम्स र किजले कोको वेडवेगलाई पराजित गरेकी थिइन्। सन् २००२ पछि पहिलोपटक दुवै अमेरिकी महिला खेलाडी फाइनलमा पुगेका हुन्।

स्टेफेन र मेडिसनबीच भएको उक्त खेलले समर्थकहरुलाई विलियम्स दिदी–बहिनीबीच भएको फाइनलको यादसमेत ताजा गराइदिएको थियो। भेनस र सेरेना विलियम्सबीच भएको उक्त फाइनलमा बहिनी सेरेनाले दिदी भेनसलाई ६–४, ६–३ ले हराएर उपाधि जितेकी थिइन्।

यो स्लोनको पहिलो ग्रान्डस्लाम उपाधि हो। १९ वर्षपछि विलियम्स दिदीबहिनीबाहेक अरु अमेरिकी यूएस ओपनकी विजेता बनेकी हुन्। यस्तै १५ वर्षपछि विलियम्स दिदीबहिनीबाहेक अन्य कुनै अमेरिकीले महिला खेलाडीले ग्रान्डस्लाम जितेको यो पहिलो अवसर पनि हो।

प्रतिक्रिया दिनुहोस्