गायनमा विक्रम अब्बल



 

राजधानीमा आयोजित छैटौं उपत्यकाव्यापी अन्तरविद्यालयस्तरीय एकल गायन प्रतियोगितामा बेबिलोन नेसनल माविका विक्रम कार्की उत्कृष्ट ठहरिएका छन्। ३९ विद्यालयका प्रतियोगीलाई पछि पार्दै उनले उपाधिसँगै १० हजार रुपियाँ पुरस्कार प्राप्त गरे। वसुन्धरा नेसनल एकेडेमीमा सम्पन्न प्रतियोगितामा नेभरउड अंग्रेजी स्कुलका पवन मित्राकोटी दोस्रो, नमुना मच्छिन्द्र माविका सृष्टि सुवेदी तेस्रो, ल्याबोरेटोरी स्कुलका बबित बस्याल र हिमरश्मि माविका प्रशन्न पाठक सान्त्वना भए। पुरस्कारबापत पवनले ८ हजार, सृष्टिले ५ हजार र सान्त्वनाले ३ हजार रुपियाँसहित मेडल र प्रमाणपत्र पाए।

प्रतियोगितामा काठमाडौं इन्टरनेसनल स्कुल गौरीघाटका संगीत शिक्षक अनोज चित्रकार उत्कृष्ट संगीतकार तथा राम खतिवडा उत्कृष्ट रचनाकार घोषित भए। विजेता तथा उपविजेतालाई गायक कुमार बस्नेतले नगद तथा प्रमाणपत्र प्रदान गरे। राष्ट्रिय गीतका रचनाकार व्याकुल माइलाको उपस्थिति रहेको प्रतियोगिताको निर्णायकमा संगीतकार राजु सिंह, गायिका विमला राई र गीतकार होम न्यौपाने थिए।

कार्यक्रममा पाँचौं उपत्यकाव्यापी अन्तरविद्यालयस्तरीय एकल गायन प्रतियोगिताका विजयी विद्यार्थीको स्वर, गीतकार होम न्यौपानेको गीत र संगीतकार डेनी निरौलाको संगीतमा तयार भएको बालगीति एल्बम बाल कुसुम सार्वजनिक गरिएको थियो। व्याकुल माइला र समाज कल्याण परिषद्का उपाध्यक्ष नीलमणि बरालले संयुक्त रूपमा एल्बम विमोचन गरेका थिए। यस वर्ष पनि विजयी प्रतियोगीको गीत रेकर्ड गरी एल्बमसमेत निकालिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्