स्कोप सहकारीको रजत जयन्ती वर्ष घोषणा



 

नेपाल समाचारपत्र
ललितपुर
स्कोप बचत तथा ऋण सहकारी संस्थाको २५औं स्थापना दिवस र रजत जयन्ती वर्षभरि विभिन्न कार्यक्रम गरी मनाउने भएको छ।

बिहीबार ललितपुरमा आयोजित एक समारोहबीच गरिब निवारण तथा सहकारी राज्य मन्त्री चम्पादेवी खड्काले सो संस्था रजत जयन्तीको लोगोको अनावरण गर्दै रजत जयन्तीको कार्यक्रम शुरूआत भएको घोषणा गर्नुभयो। सो अवसरमा राज्यमन्त्री खड्काले सहकारी संस्थाले समुदायप्रति जिम्मेवार हुँदै सहकारी संस्थाहरूले आर्थिक समृद्धिका लागि काम गर्नुपर्ने खाँचो औंल्याउनुभयो। उहाँले स्कोप बचत तथा ऋण सहकारी संस्थाले रजत जयन्ती मनाउन सक्नु नै समुदायको विश्वास र आर्थिक समृद्धिमा यसले निर्वाह गरेको भूमिकाको सूचक रहेको धारणा राख्नुभयो।

सो अवसरमा नेपाल बचत तथा ऋण केन्द्र सहकारी लिमिटेडका अध्यक्ष डीबी बस्नेतले सहकारी क्षेत्रमा उत्पन्न विकृतिविसंगतिलाई नियन्त्रण गर्दै राम्रा सहकारीहरू फुल्ने र फल्ने तरिकाले सहकारी विधयेक परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो। स्कोप बचत तथा ऋण सहकारी संघका अध्यक्ष अनीलवीर वज्राचार्यले शुरूमा हस्तकला व्यवसायीहरूको उत्थान गर्न स्थापना गरिएको सो सहकारीले जिल्लाको धार्मिक, सामाजिक, सांस्कृतिक संरक्षणमा क्षेत्रमा यथोचित सहयोग पुर्याउँदै सहकारीको सिद्धान्तअनुरूप सर्वसाधारणको आर्थिक विकासमा उल्लेखनीय काम गर्न सकेको दाबी गर्नुभयो।

सो अवसरमा अध्यक्ष वज्राचार्यले २५ वर्षको दौरानमा भएका गरेका मुख्य मुख्य कामहरूबारे जानकारी दिँदै वर्षभरि विभिन्न रचनात्मक क्रियाकलाप गरेर रजत जयन्ती मनाउने जानकारी दिनुभयो।

समारोहमा संस्थाका सल्लाहकार उत्तमरत्न धाख्वा, विश्व शान्ति पुस्तकालय, नेस्फकुनलगायत स्थापनामा महत्त्वपूर्ण योगदान पुर्याउने पूर्वअध्यक्षहरूलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्