मनको चिरफार



डा. सुमनराज ताम्राकार
बिगार्छ नदीले नथुने बाँध
नत्र त जताततै बिग्रन्छ साँध
माटोको माया छ छातीभित्र
मातृभूमि जोगाउन थाप्नुछ काँध।
विशेषतः तराईका भूभाग बाढीग्रस्त भइरहेको बेला तथा सुन्तली–धुर्मुसजस्तै उदार मन भएकाले दिलोज्यान लगाएर सहयोगी हात पुर्याइरहेको बेला काभ्रेली मुक्तककार रामसुन्दर देउजाको माथिको मुक्तक कति मार्मिक छ, कति समय सान्दर्भिक छ। त्यसो भएर पनि भन्न कर लाग्छ– नेपाली माटो सुहाउँदो साहित्य रच्न सिपालु छन् रामसुन्दर देउजा।

मन कहाँ हुन्छ ? चिकित्सक भएर पनि, अप्रेसन गरेर हिँडे पनि ठ्याक्कै यहाँ हुन्छ भन्न सकिने अवस्था छैन। तर पनि भावनात्मकरूपमा मनलाई मुटुसँग नजिक राखेर हेरिन्छ। जे होस्, यी दुईबीच कति तादात्म्यता छ ? विचारणीय छ। मुटुलाई माया–प्रेमसँग सम्बन्धित मानेर पनि यसो भएको होला।

यसअघि भाँचिएको मन (२०६३) कविता संग्रह प्रकाशनमा ल्याएको एक दशकपछि काभ्रेली साहित्यिक पहिचान रामसुन्दर देउजाले हालै मन शीर्षकको मुक्तक संग्रह प्रकाशनमा ल्याउनुभएको छ। कलम चलाइरेका, शिक्षा–शिक्षणमा लागिरहेका देउजालाई कृतिका रूपमा यो प्रकाशन गर्न किन १० वर्ष लाग्यो ? अचम्म लाग्यो। कृतिगतरूपमा यो दोस्रो भए पनि सम्पादनमा थुप्रै पत्रपत्रिका, स्मारिका अनि पुस्तकका गरिएको मलाई जानकारी छ।

जनमत प्रकाशन, नेपालद्वारा प्रकाशित काभ्रेली माटोमा उम्दाको मुक्तककारको यस संग्रहमा जम्माजम्मी १०८ वटा मुक्तकहरू समेटिएका छन्। आध्यात्मिक पृष्ठभूमिका रामसुन्दर देउजाले १०८ वटा मुक्तक नै समेटिनुमा कुनै अर्थ होला। टंक आलेले पुस्तकको राम्रो आवरण बनाइदिनुभएको छ।

कृतिको शीर्षकजस्तै मन अनि माया–प्रेमका मुक्तक त छन् नै, त्यसबाहेक राजनीतिक विकृति, सामाजिक विकृति, मानवीयता ह्रास, विछोड, विदेशिएका दाजुभाइलाई सन्देश, नैतिक शिक्षा, स्वाभिमान, साहित्यकै आचारसंहिता तथा राष्ट्रियता अनि देशप्रेम आदि सबैजसो विषय समेटिएका छन् यो संग्रहमा। यी उल्लिखित त केवल उदाहरणहरू मात्र हुन्, यस संग्रहमा समेटिएका मुक्तक एकसे एक छन्। शब्द खेलाउन माहिर रामसुन्दर देउजाले एकै बसाइमा पढी सिध्याइने मुक्तक संग्रहको ठूलो उपलब्धि भन्नु नै यो संग्रह केही पढें भन्ने अनुभूति मिल्छ। यस संग्रहको मूल्य रु. १५०⁄ रहेको छ।

प्रतिक्रिया दिनुहोस्