पर्यटक ३२ प्रतिशतले बढे



 

काठमाडौं, (नेस)
पछिल्लो छ महिनामा नेपाल भ्रमणका निम्ति आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ। अध्यागमन विभागका अनुसार सन् २०१७ को पहिलो छ महिनाको अवधिमा अघिल्लो वर्षभन्दा १ लाख १५ हजार ५ सय ५९ जना अर्थात ३२ प्रतिशत बढी पर्यटक नेपाल भित्रिएका छन्। यस वर्षको पहिलो छ महिनामा ४ लाख ७५ हजार २ सय ६९ पर्यटक नेपाल भित्रिएका छन्। सन् २०१६ को सोही अवधिमा ३ लाख ५९ हजार ६ सय ७२ पर्यटकले नेपाल भ्रमण गरेका थिए।
नेपाल घुम्न आउने पर्यटकमा भारतीयको संख्या उल्लेख्य रहेको विभागले जनाएको छ। अध्यागमन विभागका अनुसार भारतबाट यस अवधिमा ९३ हजार ४९ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्। सन् २०१६ को सोही अवधिमा ६४ हजार ८ सय ४२ भारतीयले नेपाल भ्रमण गरेका थिए। त्यस्तै चीनबाट ५४ हजार ९० जना पर्यटक आएका छन्। सन् २०१६ को सोही अवधिमा ३९ हजार ६ सय ४९ जना चिनियाँ पर्यटक नेपाल आएका थिए।

यसैगरी अमेरिकाबाट ४१ हजार ६ सय ९१ र श्रीलंकाबाट १९ हजार ७ सय २९ जना र पर्यटक नेपाल भ्रमणमा आएका छन्। सन् २०१६ मा ७ लाख २९ हजार ५५० पर्यटक नेपाल भित्रिएको तथ्यांक विभागसँग छ। यो संख्या अघिल्लो वर्षको तुलनामा ३६ दशमलव ११ प्रतिशतले बढी हो। सन् २०१५ मा ५ लाख ३६ हजार पर्यटकमात्रै नेपाल भित्रिएका थिए। सन् २०१४ मा पर्यटक आगमनको संख्या भने झन्डै ८ लाख थियो। पहिलो छ महिनाको तथ्यांक हेर्दा सन् २०१७ मा करिब ९ लाख पर्यटक नेपाल भित्रिन सक्ने अनुमान गरिएको छ। राजनीतिक वातावरण सुध्रिदै गएको तथा सरकारले बढीभन्दा बढी पर्यटक भित्र्याउन विश्वव्यापी प्रचारमा जुटेका कारण सन् २०१७ पर्यटन उद्योगका निम्ति सुखद् हुने आशामा व्यवसायीहरू रहेका छन्।

पर्यटकलाई आकर्षित गर्ने नेपालको वास्तुकला, ट्रेकिङ रुटलगायतका अन्य संरचनाहरू भूकम्पपछि पुनर्जीवन पाउने क्रममा रहेको तथा नेपाल भ्रमण गर्न सुरक्षित छ र नेपालको सौन्दर्य कायमै रहेको सरकारको प्रचारले सकारात्मक प्रभाव पार्न थालेको व्यवसायीहरू बताउँछन्। पछिल्लो समयमा पर्यटन क्षेत्रमा देखिएको सुधारले सरकारले सन् २०१८ को नेपाल भ्रमण वर्ष र सन् २०२० मा २० लाख पर्यटक नेपाल ल्याउने लक्ष्यका निम्ति सहयोग हुन सक्ने सरोकारवालहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्