काठमाडौ (नेस) ।
चीनसँगको सीमाका सबै क्षेत्रमा पूर्ण युद्धका लागि तयार रहन चीनको सरकारी सञ्चारमाध्यमले भारतलाई मंगलवार चेतावनी दिएको छ ।
दुई देशबीचको असीमांकित तीन हजार ४८८ किलोमिटर इलाकामा द्वन्द्वका नयाँ पाटा खुलेका भनी लेखिएको छ ।
चीन भारतसँग युद्धमा जान नडराउने र दीर्घकालीन द्वन्द्वका लागि तयार रहेको ग्लोबल टाइम्सको टिप्पणीमा उल्लेखित छ ।
अरुणाचल प्रदेशनजिकैको तिब्बत स्वायत्त क्षेत्रमा चिनियाँ जनमुक्ति सेनाले युद्धअभ्यास गरेपछि भारत र चीनबीच द्वन्द्वका नयाँ भौगोलिक विन्दुहरू खुलेका छन् ।
सिक्किम सिमानामा रहेको दोङलाङमा दुई देशका सेनाहरू आमनेसामने हुँदा बेइजिङले आक्रामक नीति अपनाएको छ भने सरकारी सञ्चारमाध्यमले युद्धको आवाज उठाइरहेका छन् ।
कम्युनिस्ट पार्टीको मुखपत्र पिपुल्स डेलीसँग आबद्ध ग्लोबल टाइम्सले भारतविरुद्धको मिडिया आक्रमणको नेतृत्व गरिरहेको छ ।
चीनले दोङलाङ विवादका लागि भारतकै दोष रहेको बताएको छ । भारतीय सैनिकहरू उक्त क्षेत्रमा घुसेर चिनियाँ सैनिकलाई सडक बनाउनबाट रोकेको चीनको आरोप छ । उक्त क्षेत्रमा भुटानको पनि दाबी छ ।
द टाइम्स अफ इन्डियाको सहयोगमा