नेताले बुझे कि ?



 

हाम्रा राजनीतिज्ञहरूको विदेशी मिडिया र नेपाली मिडियालाई गर्ने व्यवहारमा आकाश जमिनको फरक भएको धरहराले देखेको छ। विदेशी मिडियाले सम्पर्कको प्रयास गर्यो भने उनीहरू हाफझाफ गर्दै तयार हुन्छन् तर नेपाली मिडियाले प्रयास गर्यो भने बडो भाउ खोज्ने गरेको कहिलेकाहीं देख्न पाइन्छ।

अप्ठेरो पर्दा तिनै नेपाली मिडिया काम लाग्छन् भन्ने कुरा नेता र तिनका धुपौरेले बिर्सन्छन्। त्यही भएर कहिलेकाहीं जरुरी काम छ भने पनि टार्न प्रयास गर्छन्। आइतबार एउटा विदेशी स्पोन्सर टिभी कार्यक्रममा मुलुकका प्रधानमन्त्रीलाई अपमानित गर्ने हिसाबले केही प्रश्न आए। प्रधानमन्त्री झोक्किएको धरहराबाट देखियो।

प्रश्न तथ्यपरक भइदिएको भए ठीकै हुन्थ्यो तर ती हावादारी पनि थिए। त्यस्ता हावादारी प्रश्न पनि काँटछाँट नगरी प्रचार गरेको पाइयो। जस्तो बेलायतमा अक्सफोर्ड पढेका प्रधानमन्त्री विगत ७० वर्षदेखि निरन्तर रहेको भनियो। तर, त्यो तथ्य गलत थियो। त्यहाँ १९९० को दशकमा जोहन मेजर विद्यालय तहको मात्रै परीक्षा पास गरेका व्यक्ति प्रधानमन्त्री थिए।

राम्रो पढेलेखेका मान्छे प्रधानमन्त्री हुनुपर्छ भन्ने कुरा विवादको विषय नै होइन। तर, बन्ने पनि एउटा प्रक्रिया हुन्छ। त्यो प्रक्रिया पूरा गरेर नै नेपालमा प्रधानमन्त्री हुने हो। विदेशी मिडियाको यो प्रस्तुती शैलीबाट अबचाहिँ नेताहरूको घैंटामा घाम लाग्ला कि? कि यसै गरी अपमानित हुने हो भने भन्नु के पो रह्यो र यो धरहराको पनि। कि कसो पाठकवृन्द?

प्रतिक्रिया दिनुहोस्