साउदी र इजिप्टले कतार विमानमाथि हवाई क्षेत्र प्रयोग गर्न रोक



कायरो⁄रियाद, (एजेन्सी)
कतारसँग कूटनीतिक सम्बन्ध समाप्त गरेपछि इजिप्ट र साउदी अरेबियाले कतारका विमानलाई आफ्नो हवाई क्षेत्रमा उडान भर्न प्रतिबन्ध लगाएको छ। इजिप्टले कतारका विमानका लागि आफ्नो वायुसीमा बन्द गरेको छ भने साउदी अरेबिया र बहराइनले पनि मंगलबार कतारका विमानमाथि रोक शुरू गरेका छन्।
साउदी अरेबिया, इजिप्ट र संयुक्त अरब इमिरेट्ससहित यमन र मालदिभ्सले कतारमाथि खाडी क्षेत्रमा कट्टरपन्थी फैलाएको आरोप लगाउँदै ऊसँगको कूटनीतिक सम्बन्ध अन्त्य गरेका हुन्।

कतारको राजधानी दोहाको विमानस्थल अन्तर्राष्ट्रिय उडान परिवर्तन गर्ने एउटा प्रमुख विन्दु हो र यो रोकले थुप्रै यात्रुलाई समस्या झेल्नुपर्ने आशंका गरिएको छ।
कतारको विमानका लागि इजिप्ट र साउदी अरेबियाको आकाशमा प्रवेशमाथि रोक लगाएपछि कतार एयरवेज, इतिहाद तथा इमिरेट्स एयरलाइन्सको उडान प्रभावित हुनेछ।
यूएईले विदेशी एयरलाइन्स कम्पनीले कतार जाने उडानका लागि यूएईको हवाई क्षेत्र प्रयोग गर्नका लागि अनुमति लिनुपर्ने समाचारमा जनाइएको छ।

छिमेकी देश साउदी अरेबियाले गरेको प्रवेश रोकले कतारका विमानलाई लामो रुटबाट उडान भर्नुपर्ने हुन्छ जसले गन्तव्यसम्म पुग्नमा यात्रीहरूलाई धेरै समय लाग्नेछ। तर कतारका विदेश मन्त्री सेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले अल जजिरालाई कतारबाट अन्तर्राष्ट्रिय समुद्री मार्ग र हवाई क्षेत्रबाट विश्वको थुप्रै देशमा पुग्न सकिने प्रतिक्रिया दिए।

सोमालियाका अधिकारीहरूले सोमबार कतार एयरवेजका कम्तीमा १५ विमानले सोमालियाको वायु क्षेत्रको प्रयोग गरेको र यो सामान्य दिनमा भन्दा धेरै भएको समाचार एजेन्सी एएफपीलाई बताएका छन्।

प्रतिक्रिया दिनुहोस्