काराकास, (एजेन्सी)
गत महिना भेनेजुयलाको राजधानी काराकासमा सरकारविरुद्धको विरोध प्रदर्शनको क्रममा सडकमा जिउँदै जलाइएका एक २२ वर्षीय युवकको मृत्यु भएको सुरक्षा सूत्रले सोमबार जनाएको छ। अल्टामिरा जिल्लामा आक्रोसित भिडले ओर्लान्डो फिगुएरा नामक ती युवामाथि आक्रमण भइरहेको तस्वीरहरु सार्वजनिक भएका छन्।
सरमकारी वकिलहरुले आक्रमणकारीहरुको पहिचान भइसकेको पनि बताएका छन्। यसैबीच राष्ट्रपति निकोलस मादुरोले सरकारको समर्थक भएकै कारण तिनको शरीरमा पेट्रोल छर्केर जिउँदै जलाइएको बताएका छन्। अप्रिलयता प्रदर्शनसँग सम्बन्धित हिंसाको कारण कम्तीमा ६० व्यक्तिको ज्यान गइसकेको छ।
एउटा तस्वीरमा भुइँमा घुँडा टेकेर बसेका फिगुएरामाथि एकजना मुकुण्डोधारीले पेट्रोल छर्किरहेको देखिन्छ। अर्को तस्वीरमा अर्को मुकुण्डोधारीले लाइटरबाट आगो सल्काउँदै गरेको देखिन्छ। डाक्टरहरुको प्रतिवेदनमा उनको शरीर ८० प्रतिशत जलेको उल्लेख गरिएको छ। प्रत्यक्षदर्शीहरुले भने भिडले उनलाई चोर भन्दै आक्रमण गरेको बताएका छन्।
तर राष्ट्रपति माडुरोले यस घटनाका लागि विपक्षी नियन्त्रित राष्ट्रिय सभाका नेता जुलियो बोर्गेस जिम्मेवार भएको बताएका छन्। उनले नै सरकारविरुद्ध प्रदर्शन गर्न आफ्ना समर्थकहरुलाई उक्साएका थिए।
बोर्गेसविरुद्ध देशमा हत्या, हिंसा र अपराध फैलाएको आरोप लगाइएको छ। विपक्षी राजनीतिज्ञहरुले भने माडुरोको सरकारमाथि नै सम्पूर्ण हिंसाको दोष थोपरेका छन्। सोमबार पनि काराकासमा सरकार समर्थित र विरोधीहरुको छुट्टाछुट्टै जुलुस निस्केका थिए।











प्रतिक्रिया