साढे छ हजार पशु बिमा



फलेवास (पर्वत), १३ चैत । आफूले पालेका पशुको बिमा गर्ने कृषकको सङ्ख्या बढ्दै गएको हो ।

सरकारले चार वर्ष पहिलेदेखि पशुपालन व्यवसायमा रहेको जोखिम न्यूनीकरण गर्न पशुमा बिमा लागू गरेपछि व्यावसायिक रुपमा पशुपालन गरेका कृषकको आकर्षण बढेको जिल्ला पशुसेवा कार्यालय पर्वतले जनाएको छ ।

जिल्ला पशुसेवा कार्यालयका अनुसार हालसम्म जिल्लामा साढे छ हजार पशुको बिमा भएको छ । वरिष्ठ पशु विकास अधिकृत सुधीर थापाका अनुसार गाई सात सय ५६, भैँसी एक सय २७, बाख्रा तीन हजार एक सय १२, बङ्गुर दुई सय १७ वटाको बिमा भएको छ । चालु आवमा भने हालसम्म दुई सय ७४ पशुको बिमा भइसकेको छ । जिल्लामा झन्डै ६०० पशुपालक कृषक छन् ।

गत वर्षसम्म पशुबिमासम्बन्धी ज्ञान नभएका कारण जिल्लामा यसको सङ्ख्या नबढेको भए पनि क्रमशः बिमा गर्न आउनेहरु बढ्न थालेका छन् । पछिल्लो समयमा गाईभैँसी, बाख्रा, बङ्गुर तथा कुखुरापालन गर्ने कृषकको सङ्ख्यासमेत बढेको छ । व्यावसायिक रुपमा फार्म तथा सहकारीतर्फ लाग्ने युवाको सङ्ख्या पनि बढेको छ ।

बिमा गर्नुपर्छ र बिमा गर्दा सरकारले राहत दिन्छ भन्ने कुराको जानकारी नभएकाले यसतर्फ कृषक बढी आकर्षित नभएको ठम्याइ कार्यालयको छ । “पशु बिमा गर्दा व्यावसायिक रुपमा पशु तथा पक्षीपालन गर्दै आएका कृषकको जोखिम न्यूनीकरण हुन्छ तर व्यावसायिक कृषक नै यसतर्फ आकर्षित भएका छैनन्”, कार्यालयका पशु चिकित्सक डा विकास श्रेष्ठले भन्नुभयो, “व्यावसायिक काम गर्दा जोखिम बढी हुने भएकाले पनि बिमा गर्नु अनिवार्य भइसकेको छ ।”

सरकारले २०६९ साल माघदेखि पशु र कृषिपालन व्यवसायमा लाग्ने कृषकका लागि राहत र जोखिम घटाउन बिमा लागू गरेको थियो । सुरुका वर्षमा बिमा गर्दा लाग्ने शुल्कमा सरकारले ५० प्रतिशत र कृषकले ५० प्रतिशत प्रिमियम बुझाउने व्यवस्था गरे पनि प्रभावकारी नभएकाले गत वर्षदेखि सरकारले नै ७५ प्रतिशत प्रिमियम व्यहोर्न थालेको छ ।

कृषकले न्यून शुल्क तिरेर बिमा गर्न सक्ने भएकाले यसतर्फ ध्यान दिन कार्यालयको आग्रह छ । पशु बिमा हरेक वर्ष गर्नुपर्ने भएकाले केही झन्झटिलो हुँदा पनि कृषक यसतर्फ कम आकर्षित भएको श्रेष्ठको भनाइ छ । तर पशुधनको क्षति हुँदा बिमा नगर्ने कृषक मर्कामा पर्ने भएकाले हरेक पशुको बिमा गर्नु अनिवार्य भएको सुझाव उहाँले दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्