रोजगार सूचना केन्द्र आफै अलपत्र



रोविन पौडेल, काठमाडौं

बेरोजगार युवालाई स्वदेशमै रोजगारीको अवसरमा पहुँच पुर्याउने उद्धेश्यले आठ वर्ष अघि स्थापित रोजगार सूचना केन्द्र अझै प्रभावकारी हुन सकेको छैन। आर्थिक वर्ष २०६५⁄६६ को बजेटमा मुलुकभर १४ स्थानमा रोजगार सूचना केन्द्र स्थापना गर्ने उल्लेख गरे पनि केन्द्रले नै लक्ष्य अनुरूपको प्रगति गर्न सकेको छैन।

सूचना केन्द्रका सेवाग्राही धेरै भए पनि रोजगारी नै पाउनेको संख्या एकदमै न्यून रहेको छन्। केन्द्रबाट सेवा लिई काम गर्नेको संख्या अहिलेसम्म करिब सय जना रहेको केन्द्र प्रमुख तथा वरिष्ठ कारखाना निरीक्षक उदयकुमार गुप्ताले जानकारी दिनुभयो। नेपाल समाचारपत्रसँग कुरा गर्दै गुप्ताले भन्नुभयो–‘ केन्द्र विफल हुनुको प्रमुख कारण रोजगारदाता कम्पनीसँग समन्वय हुन नसक्नु र सेवाको प्रवद्र्धन गर्न नसक्नु हो। बेरोजगारको संख्या धेरै भए पनि रोजगारदाता एकदमै न्यून छन्। हामी पनि हाम्रो क्षमताअनुसार रोजगारदातासम्म पुग्न नसकेकाले प्रभावकारी हुन नसकेका हो।’

सूचनाको अभावमा कतिपय युवाशक्ति रोजगारीको अवसरबाट बन्चित रहेको अवस्थामा थालनी गरिएको केन्द्र स्थापना भएको झण्डै एक दशक पुगि सक्दा पनि उपलब्धिमुलक हुन सकेको छैन। केन्द्रले आफ्ना सेवा सुविधाको प्रवद्र्धन गर्ने उद्धेश्यले छैठौं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा स्टल राखे पनि त्यहाँ खासै आवेदन परेको थिएन।’ गुप्ताले भन्नुभयो–‘पाँच दिनको उक्त मेलामा ५ सय बेरोजगार र ३५ रोजगारदाता कम्पनीले फारम भरेका थिए।’

अर्कोतर्फ केन्द्रले अनलाइनबाट फारम भर्नसक्ने व्यवस्था गरे पनि त्यसबाट सेवा लिनेको संख्या पनि न्यून छ। यसो हुनुमा प्रचारप्रसारको कमी, रोजगारदाता कम्पनीले उत्सुकता नदेखाउनु रहेको केन्द्रको ठहर छ। यस कार्यलाई प्रभावकारी बनाउन केन्द्रले जनचेतनाको कार्यक्रम ल्याउने जनाएको छ।

श्रम विभागले १४ वटै अञ्चलमा रोजगार सूचना केन्द्रको स्थापना गरे सबैति यस्तै रहेको बताइएको छ।

वर्षेनी ४ लाख श्रमशक्ति विदेसिने गरेको अवस्थामा स्वदेशमै रोजगारीको राम्रो अवसर भएको जानकारी दिन स्थापना गरिएको केन्द्र प्रभावकारी हुन नसकेर कामै ठप्प बनेकाले केन्द्र थप योजना ल्याउन नसक्ने अवस्थामा पुगेको छ।

केन्द्रका माध्मबाट रोजगारीको खोजीमा रहेका व्यक्तिले शैक्षिक योग्यता, अनुभव, इच्छा र चाहेको तलबसमेत उल्लेख गरी निःशुल्क निवेदन फारम भर्नुपर्नेछ। अर्कोतर्फ रोजगारदाता कम्पनीले योग्यता, अनुभव र प्रस्ताबित तलबसहितको जनशक्ति आवश्यकताको सूचना फारम भर्नुपर्नेछ।

त्यस्तै केन्द्रले सिपमुलक तालिम लिन इच्छुक कामदारलाई तालिमका लागि सिफारिस र इन्टर्नसिपको पनि व्यवस्था गर्ने गरेको छ। रोजगारदाता र कामदारबीचका सबै किसिमका सम्झौतामा केन्द्र नै साक्षी बस्ने व्यवस्था गरेको छ। यसरी रोजगारीमा जाने कामदारलाई कुनै समस्या परे रोजगार सूचना केन्द्रमा उजुरी दिन सकिने कानुनी व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्