८ महिनामा ८२ प्रतिशत भन्सार राजस्व



हेमन्त जोशी, काठमाडौं

भन्सार विभागले चालू आर्थिक वर्षको आठ महिनामा ८२ दशमलब २८ प्रतिशत राजस्व संकलन गरेको छ। यसअवधिमा १ खर्ब ६८ अर्ब ३९ करोड १२ लाख रुपियाँ बराबरको राजस्व संकलन भएको विभागले जनाएको छ।

चालू आर्थिक वर्षमा २ खर्ब ४६ अर्ब ४ करोड ९० लाख ८८ हजार राजस्व संकलन गर्ने विभागको लक्ष्य छ। विभिन्न भारतीय सीमावर्ती, उत्तरी सीमावर्ती, छोटी भन्सार र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारलगायतका २३ वटा भन्सार कार्यालयमार्फत् विभागले उक्त राजस्व रकम असुली गरेको हो।

फागुनसम्मको राजस्व असुली लक्ष्यमा ८ दशमलब ६३ प्रतिशतले बढी रहेको भन्सार विभागका तथ्यांक शाखा प्रमुख विनोदशरण आचार्यले जानकारी दिनुभयो।
जसअन्तर्गत फागुन महिनामा मात्रै १९ अर्ब ६० करोड ६२ लाख रुपियाँ संकलन भएको छ। जुन रकम गत माघ महिनामा असुल गरिएको राजस्व रकमको तुलनामा २० करोड रुपियाँले कम भएको भन्सार विभागले जानकारी दिएको छ।

गत आर्थिक वर्ष २०७२⁄७३ फागुनसम्मको तुलनामा भने यस वर्ष राजस्व असुली ६४ दशमलब ५२ प्रतिशतले वृद्धि भएको छ। फागुनसम्मको राजस्व असुली लक्ष्यभन्दा करिब १३ अर्ब ३८ करोडभन्दा बढी राजस्व संकलन भएको हो। त्यस्तै चालू आर्थिक वर्षको यस अवधिमा ७ वटा भन्सार कार्यालयले लक्ष्यभन्दा निकै कम राजस्व असुली गरेका छन्। भन्सार विभागको तथ्यांकअनुसार त्रिभुवन विमानस्थल, तातोपानी, सर्लाही, सिराहा, राजविराज, विराटनगर र सुनसरी भन्सार कार्यालयले लक्ष्यभन्दा कम राजस्व संकलन गरेका छन्।

भैरहवा भन्सार कार्यालयले भने लक्ष्यभन्दा ११ अर्ब ३३ करोडभन्दा बढी राजस्व संकलन गरेको छ। लक्ष्यभन्दा बढी राजस्व संकलन गर्ने कार्यालयको सूचीको दोस्रो नम्बरमा नेपालगंन्ज भन्सार कार्यालय रहेको छ। उक्त कार्यालयले लक्ष्यभन्दा १ अर्ब ३५ करोड २ लाख ६८ हजार रुपियाँ बढी भन्सार रकम असुली गरेको हो।

भन्सार प्रशासनले मूल्य अभिवृद्धि कर, भन्सार शुल्क र अन्तःशुल्क करमार्फत सो रकम असुली गरेको हो। यस आर्थिक वर्षमा १ खर्ब ४७ अर्ब ४० करोड ६८ हजार लक्ष्य लिइएको भन्सार शुल्कमार्फत माघ मसान्तसम्ममा ७३ अर्ब १७ करोड २२ लाख ३६ हजार रुपियाँ संकलन भएको छ। त्यस्तै मूल्य अभिवृद्धि कर (भ्याट) मार्फत १ खर्ब ५३ अर्ब ९ करोड १६ लाख २५ हजार लक्ष्य लिइएकोमा ६७ अर्ब ९९ करोड ७८ लाख ५१ हजार रुपियाँ र अन्तःशुल्क कर मार्फत ३५ अर्ब ९१ करोड ७३ लाख ९५ हजार लक्ष्य लिइएकोमा २७ अर्ब २२ करोड १० लाख ६० हजार रुपियाँ संकलन भएको भन्सार विभागले जनाएको छ।

भन्सार विभागअन्तर्गतका कार्यालयले निकासी र पैठारी हुने मालवस्तुको जाँचपास गरी निर्धारण गरिएको राजस्व असुली गर्दै आएको छ। भन्सार महशुल, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क तथा अन्य करलगायतका काम भन्सार कार्यालयले गर्दै आएका छन्। मुलुकको अर्थतन्त्रमा भन्सारले कुल राजस्वको ४४ प्रतिशत र कर राजस्वको ५० प्रतिशत प्रतिनिधित्व गर्छ।

प्रतिक्रिया दिनुहोस्