औषधि उत्पादनमा आत्मनिर्भर हुनुपर्नेमा जोड



ललितपुर, (नेस)
५२ प्रतिशत औषधि भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै औषधि व्यवसायमा पूर्ण रूपमा आत्मनिर्भर हुने परिस्थिति निर्माण गर्नुपर्ने खाँचो औंल्याएका छन्। नेपाल औषधि व्यवसायी संघ बाग्मती अञ्चल शाखाको शनिबार ललितपुरमा सम्पन्न तेस्रो वार्षिक साधारणसभाका सहभागी व्यवसायीले उक्त खाँचो औंल्याएका हुन्।

औषधि उत्पादनमा आत्मनिर्भर नभएकाले नाकाबन्दीका बेला निकै ठूलो समस्या व्यहोर्नुपरेको जनाउँदै उनीहरूले औषधि उत्पादनमा क्रमशः आत्मनिर्भर हुँदै जानुपर्ने पनि धारणा राखेका छन् । नेपाल औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष मृगेन्द्रमयेर श्रेष्ठले गुणयुक्त, असरयुक्त र जनसुरक्षित औषधिको मूल्य एकता कायम गरी देशभर औषधि सर्वसुलभ आपूर्ति गर्नुपर्नेमा जोड दिनुभयो।
सो अवसरमा संघ वाग्मती अञ्चल शाखाका अध्यक्ष निरञ्जनप्रसाद रिसालले औषधि व्यवसायमा देखापरेका समस्या पनि नीतिगत दायरामा ल्याउनुको साटो राज्यले नीति नियम जथाभावी एकोहोरो रूपमा लाडेर व्यवसायीलाई पलायन गराउन खोजेको आरोप लगाउनुभयो।

अध्यक्ष रिसालले म्याद नाघेका औधषिहरू बेच्ने, एमआरपीभन्दा बढी मूल्य लिने, दुव्र्यसनीलाई लागू तथा मनाद्वोप औषधि बेच्ने आदि आरोपहरू लाग्ने गरेको बताउँदै स्वास्थ्यजस्तो संवेदनशील व्यवसायमा जनमानसमा अनेक भ्रम र आरोप लगाइरहने अवस्थाको अन्त्यका लागि व्यावसायिकता महत्त्वपूर्ण रहेको पनि धारणा राख्नुभयो। संघमा दर्ता नभएका कतिपय औषधि व्यवसायीहरूले नाफाका लागि लागुऔषधसमेत बेच्ने गरेको जनाउँदै अध्यक्ष रिसालले त्यसलाई कानूनी दायरामा ल्याउन संघ सदैव सहयोगी हुने पनि बताउनुभयो।

वाग्मती अञ्चल शाखाका महासचिव सम्राटमान जोशीले औषधि व्यवसायी सम्बन्ध ऐन पुरानो भइसकेको र त्यसले अहिलेको समस्या समाधान गर्न नसकेको बताउँदै त्यसलाई संशोधन गर्नुपर्ने धारणा राख्नुभयो।

औषधि व्यवसायीले राखेको धारणा, गुनासो र समस्यालाई सम्बोधन गर्दै औषधि व्यवस्था विभागका महानिर्देशन नारायणप्रसाद ढकालले औषधि व्यवसायीलाई मर्यादित र जिम्मेवार बनाउन विभागबाट जारी ऐन, नियम र संहिताको पालना गर्नु आग्रह गर्नुभयो। उहाँले मापदण्डविपरीत घर–घरमा औषधी व्यवसाय सञ्चालन गर्न गरेको बताउँदै ऐन कानुनको पालना व्यवसायीहरू जिम्मेवार हुनुपर्ने पनि बताउनुभयो।

लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक धिरु बस्नेतले औषधि पसलले ठगी गर्ने गरेको, नक्कली बिल बनाउने, गलत प्रयोजनका लागि औषधि बिक्री वितरण गरेको बताउँदै त्यसको अन्त्य गर्दै सर्वसाधारणको स्वास्थ्यप्रति संवेदनशील भएर व्यवसाय गर्न आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्