देविकाको देन



रश्मी थापा,
माधुर्य स्वरकी धनी गायिका देविका (प्रधान) बन्दना गायनको क्षेत्रमा अढाइ दशकदेखि छाइरहेकी छिन्। सांगीतिक यात्रामा निस्केको २५ वर्षसम्म पनि उनी अविराम यो यात्रामा छिन्। विशेष गरी यस्तै रहेछ यहाँको चलन गाएदेखि संगीतिक करियरमा कहिल्यै पछाडि फर्किएर हेर्न परेन उनलाई। मन चंगा भो, अच्छा लेकिन, यो माया के हो, एउटा परदेशी, बाबा तिमी, ए हजुरजस्ता दर्जनौं हिट गीत गाएर श्रोताको मनमा राज गर्न सफल उनले करिब एक हजार गीत गाइसकेकी छिन्। करिब एक सय त फिल्मका गीतहरु नै गाएकी छिन् उनले।

केही समय अघिमात्र हिन्दी गीत गाएकी उनले हालै सिरडी साई र साई राम बोलको दुई भजनको भिडियो सार्वजनिक गरेकी छिन्। दुवै भजनमा स्व. फत्तेमान राजभण्डारीको संगीत मनोज पौडेलको शब्द र अशोक प्यासीको एरेन्ज रहेको छ। ‘फत्तेमान दाइले संगीत दिनुभएको यो गीत रेकर्ड हुनेबेला सँगै बस्छु भन्नुभएको थियो। तर यो भजनको रेकर्डिङको बेलामै उहाँ हस्पिटलाइज्ड हुनुभयो’ देविकाले सम्झिन् ‘यति राम्रो संगीत दिएर गीतको रेकर्डिङमा सँगै बस्छु भनेको उहाँ पछि बस्न पाउनुभएन, सार्है खल्लो महशुस भयो।

गीत रेकर्ड भएपछि केही समयमा उहाँ स्वर्गीय हुनुभयो। हामीले यसको एक वर्षपछि मात्र भिडियो निकाल्ने निर्णय भयो। यस गीतको भिडियोमा पहिले फत्तेमान दाइसंग गीत गाइरहेको बेलामा गरेको केही सानो भिडियो थियो। त्यो पनि समावेश गरिएको छ। यही भजनको सुटिङको क्रममा मैले गुरु पूर्णिमाको दिन इन्डियाको सिरडीमा गएर यो भजन गाउने मौका पाएँ। यस भिडियोको केही दृश्य अरु अरुणा भट्टराईको स्कुलका बालबालिकाहरुबीच सुट गरिएको छ।’

सानै बेलादेखि विद्यालयहरुमा हुने विभिन्न सांगीतिक कार्यक्रमहरुमा गीत गाउने उनी साथीहरु र गुरुहरुबाट आफ्नो स्वरको तारिफ पाएपछि गीतसंगीतमा झन मोह बढेका कारण गीतसंगीतमा लागेकी हुन्। ‘स्कुलमा हुने विभिन्न कार्यक्रममा म स्टेजमा गएर तारादेवी, अरुणा लामा, कुन्ति मोक्तान, सुक्मित गुरुङ दिदीहरुको गीत गाउने जुन देखेँ, गुरु तथा साथीभाइले स्वर राम्रो बनाउन हौसला दिनुभयो। त्यसैले पनि मलाई गीतसंगीतमै लाग्न प्रेरणा मिल्यो’ गीतसंगीतका प्रारम्भिक दिनका बारे देविका खुलिन् ‘बुबामुवालाई मेरो राम्रँे स्वर छ र मलाई गीत गाउन मन छ भन्ने थाहा थियो। तर उहाँहरु गीतसंगीतमा भन्दा पढाइमा ध्यान दिएको हेर्न चाहनुहुन्थ्यो। मेरो इच्छा देखेर ठीक छ संगीतमै गर न त भन्नुभयो। म त्यतिबेला समय मिलाएर शीलाबहादुर मोक्तान र कुन्ति मोक्तान दिदीको घरमै संगीत सिक्न जान्थें।
त्यस्तै मैले संगीत प्रवीणकुमार श्रेष्ठ, नरराज ढकाल, शम्भुजित बास्कोटा, शारदा ढकाल लगायतसंग संगीतको ज्ञान लिएँ।’
विनोद मानन्धरद्वारा निर्मित फिल्म कस्तुरीमा किरण प्रधानको संगीतमा तिमीलाई मेरो यो आँखामा बोलको गीतबाट फिल्मी गायन शुरु गरेकी उनले आजसम्म आइपुग्दा लगभग सयभन्दा बढी फिल्मका गीतहरुमा स्वर दिएकी छिन्। ‘कस्तुरीमा मैले किरण प्रधान दाइको संगीतमा उहासँगै गीत गाउने मौका पाएँ। जुन गीत कलकत्तामा रेकर्डिङ भएको थियो, त्यसपछि मैले धेरै गीतहरु गाएँ। त्यस्तै यादव खरेल दाइको शब्द र शम्भुजित बास्कोटा दाइको संगीतको यस्तै रहेछ यहाँको चलन बोलको गीतले मलाई देविका बन्दना भनेर अझ बढी चिनायो’ उनले सुनाइन् ‘त्यस्तै ललितजंग रावलको शब्द र नरेन्द्र प्यासीको संगीतमा रहेको एउटा परदेशी बोलको गीतले पनि मलाई चिनाउन सहयोग गरेको थियो ।’

त्यसो त उनी आफ्ना फ्यानहरुलाई पनि उत्तिकै सम्झिन्छिन्। ‘२०४९ सालतिर जस्तो लाग्छ मैले दरबारमार्गको शालिक नजिकै सम्पन्न एक कार्यक्रममा हे मायालु बोलको पप गीत गाएकी थिएँ। त्यहाँ कुन्ति मोक्तान, सुक्मित गुरुङ दिदीहरु पनि सहभागी हुनुहुन्थ्यो। मैले गीत गाएको नांलो रेस्टुरेन्टको माथि बसेर दिपेन्द्र सरकारले हेरिरहनुभएको रहेछ’ उनले पुरानो कुरा सम्झिइन् ‘पछि साथीहरुले भनेर थाहा पाएँ र उनीहरुको सहयोगमा उहाँलाई भेट्न त्यही गएँ। भेटेपछि म तपार्इंको ठूलो फ्यान हूँ भन्नुभयो।’

उनले अर्को रमाइलो प्रसंग शेयर गर्दै भनिन् ‘त्यस्तै हामी हरिवशं आचार्य, मदनकृष्ण श्रेष्ठ दाइहरु कुन्ति मोक्तान, सुक्मित गुरुङ दिदीहरु एकपटक धनगढीमा कार्यक्रम गरेर बसमा फर्किंदै थियौँ। बाटोमा प्रहरीले गाडी रोक्यो, हामीमध्ेय एक जनालाई बोलायो। हरीवशं दाइ निस्किएर जानुभयो र फर्केर देविकाको फोन रहेछ जाउ भन्नुभयो। मैले सानो बच्चा घरमै छोडेर आएको थिएँ। कतै केही भयो कि भनेर डर पनि लाग्यो। त्यहा पुगेर फोन उठाएँ। एउटा भर्खरको केटाको आवाज थियो, भन्दै थियो मैले हिजो तपाईंको कार्यक्रममा गीत गाएको सुनिरहेको थिएँ। कति प्रयास गर्दा पनि भेट्न मिलेन बिहानै तपार्इं बस्नुभएको होटेलमा पुगेँ।

तर तपाईं हिँडीसक्नुभएछ। त्यसैले फोन गरेको भन्यो। यो सुनेर खुसी पनि लाग्यो घरमा केही भयो कि भनेर आत्तिँदै गएको थिएँ रिस पनि उठ्यो। उसले त हरेक पुलिस बुथमा फोन गरिरहेको रहेछ। बल्ल त्यो बुथमा फोन आउँदा हामीसँग भेट भयो।’ उनले अर्को सम्झना पनि शेयर गरिन् ‘अर्को एकजना गजबको प्mयान पनि भेटेँ। ऊ मेरो एकजना भाइको रेस्टुरेन्टमा आएर मेरो बर्थडेको दिन ह्याप्पी बर्थ डे देविका लेखेको केक काटेर त्यहाँ आउने मान्छेहरुलाई बाँडिरहेको रहेछ। जुन कुरा मलाई भाइले सुनायो। यस्तो पनि फ्यान रहेछन् भनेर खुसी लाग्यो। पछि त्यही भाइमार्फत ऊसँग मेरो भेट पनि भयो।’

केही समयअघि बस तेरा नाम बोलको हिन्दी गीत गाएर सबैको तारिफ बटुलेकी उनले अर्को हिन्दी गीत गाएको र भिडियो निर्माण गर्न बाँकी रहेको पनि सुनाइन्। ‘मैले मुम्बईमा केही केही नेपाली गीतको रेकर्ड गरिरहेको बेला त्यहाँका प्रोड्युसरले हेरिरहेका थिए। मेरो स्वर राम्रो लागेछ। तपाईं हिन्दी गीत गाउनुहुन्छ भनेर सोध्नुभयो, मैले हुन्छ गाउँछु भनेँ। मैले संगीत र एरेन्ज चाहिँ नेपालकै लिन्छु र त्यसमा केही नेपाली शब्द राख्छु भनेँ। नेपाली शब्द कान्छाले कान्छीलाई हेर बोलायो सुसेली हालेर लैबरी लै लै थपेर गाएँ’ देविकाले सुनाइन् ‘मैले थपेको लाइन मन परेछ। मैले मात्र गाउने भनेको नेपाली लाइन उहाँले पनि गाउनुभएको छ।’

दर्जनौं नेपाली, नेवारी र मराठी भाषाका गीतहरु गाएकी उनी आफूले पहिलोपटक हिन्दी गीत गाएको भए पनि यस गीतबाट धेरैको राम्रो प्रतिक्रिया पाएको उनी बताउँछिन्। ‘यो गीतलाई धेरैले राम्रँे छ, शब्दको उच्चारणदेखि लिएर सबै कुरामा राम्रँे गरेको छौ भन्नुहुन्छ। म यो क्षेत्रमा लागेदेखि अहिलेसम्म निरन्तर रूपमै यही क्षेत्रमा छु भन्छिन् ‘पहिले पहिले गीतको सिडी, क्यासेट धेरै बिक्री हुन्थे। तर अहिले गीत सुन्ने तरिकामा फरकपन आएको छ।

मेरो भजनको सीडी ५ लाखप्रति बिक्री भएको थियो। तर हिजोआज गीतसंगीत युट्युबबाट हेरिन्छ। यसबाट केही कमाइ हुन्छ। गीतसंगीत सहज पनि भएको छ। पहिले महँगो क्यासेट प्लेयरमा सुनिने गीतसंगीत अहिले मोबाइलमा राखेर तथा विभिन्न माध्मबाट सुन्ने गरिन्छ। गीतसंगीतको बजार पहिलेजस्तो छैन, दुःख लाग्छ।’

प्रतिक्रिया दिनुहोस्