नयाँ संरचनाअनुसार कर्मचारी खटाइयो



नेपाल समाचारपत्र
जाजरकोट
याँ संरचनाअनुसार जाजरकोटमा सात स्थानीय तहको काम गर्ने गरी सात जना कार्यकारी अधिकृत खटाइएको छ। जिल्लामा शाखा अधिकृत स्तरका कर्मचारी नहुँदा सबैमा नायब सुब्बा स्तरका कर्मचारीलाई कार्यकारी प्रमुखको जिम्मेवारी तोकिएको हो।

जिल्लाको जुनीचाँदे गाउँपालिकाका लागि साविकको मजकोट गाउँ विकास समितिको कार्यालयबाट काम शुरू गर्ने गरी गाविस सचिव नासु कृष्णबहादुर शाह, वारेकोट गाउँपालिकाका लागि साविकको नायकवाडा गाउँ विकास समितिको कार्यालयबाट काम हुने गरी गाविस सचिव नासु तुलाराम गिरी, शिवालय गाउँपालिकाका लागि साविकको सीमा गाउँ विकास समितिको कार्यालयबाट काम हुने गरी नासु गोमा पन्थी, छेडागाड नगरपालिकाका लागि साविकको कार्कीगाउँ गाउँ विकास समितिको कार्यालयमा रहने गरी गाविस सचिव रहेका नासु मोतिलाल खत्री, त्रिवेणी नलगाड नगरपालिकाका लागि साविकको खगेनकोट गाउँ विकास समितिको कायालयमा रहने गरी गाविस सचिव नासु नरेन्द्र सिंह, कुशे गाउँपालिकाका लागि साविकको ढिमे गाविस कार्यालयबाट कार्य सञ्चालन हुने गरी गाविस सचिव नासु मणिराम रिमाललाई कार्यकारी अधिकृतका रूपमा खटाइएको जिल्ला समन्वय समितिको कार्यालय जाजरकोटका स्थानीय विकास अधिकारी रुद्रप्रसाद पण्डितले बताए। भेरी नगरपालिकाका लागि सविकको भेरीमालिका नगरपालिकाको कार्यालयबाट काम हुने गरी शाखा अधिकृत रामप्रसाद शर्मालाई कार्यकारी अधिकृत तोकिएको छ।

कार्यकारी अधिकृतले तोकिएको गाउँ विकास समितिमा पुगेर गाउँपालिकाको र नगरपालिकाको कार्य सुचारु गर्नेछन्। स्थानीय राजनैतिक दलहरूसँग समन्वय गरी गाउँपालिका र नगरपालिकाबाट प्रदान हुने सबै सेवाका बारेमा विस्तारै स्थानीय स्तरमा जानकारी गराउँदै जाने तयारी भइरहेको जिल्ला समन्वय समिति जाजरकोटले जनाएको छ।

जाजरकोटमा तोकिएका गाउँपालिका र नगरपालिकाको केन्द्रहरू भौगोलिक अवस्थाअनुसार उपयुक्त नभएको भन्दै स्थानीयले विरोध गरेका छन्। जिल्लास्थित राजनैतिक दलको सहमतिमा तोकिएको पालिकाहरूको केन्द्र मन्त्रालयले फरक गरी तोकिदिएपछि दल र स्थानीयले विरोध गरेका हुन्। जाजरकोटको कुशे गाउँपालिकाको अर्छानीको धारापानी केन्द्र कायम गरी पठाइएकोमा ढिमेको खुर्पा तोकिएको छ। वारेकोटको लिम्सामा केन्द्र हुनुपर्नेमा नायकवाडा तोकिएको छ, त्रिवेणी नलगाड गाउँपालिकाको खगेनकोटको दल्ली हुनुपर्नेमा खगेनकोटकै मनमईमा तोकिएको छ। छेडागाड नगरपालिकाको मनघाटमा केन्द्र तोकिएकोमा कार्कीगाउँ तोकेर पठाइएको छ।

अधिकांश पालिकामा एक ठाउँ केन्द्र तोकिएकोमा मन्त्रालयले अर्कै ठाउँ तोकेर पठाउँदा जाजरकोटमा स्थानीयले विरोध गरेका हुन्। अपायक पर्ने ठाउँमा हचुवाको भरमा केन्द्र तोकिएकाले कामकाजमा समस्या पर्ने नेकपा एमाले जाजरकोटका अध्यक्ष करवीर शाहीले बताए। जिल्ला स्तरमा मंगलबार बसेको सर्वदलीय बैठकले केन्द्र परिवर्तनका लागि सरकारलाई अनुरोध गरिएको शाहीले बताए।

प्रतिक्रिया दिनुहोस्