दुई भू–माफिया जेल चलान



सञ्जय कार्की, रौतहट
हदबन्दीको जमिन आफ्नो नाममा बनाउने रौतहटका दुई जना भूमाफिया मंगलबार जेल चलान भएका छन्। कीर्ते नागरिकता प्रमाणपत्र र लालपुर्जा बनाई लक्ष्मीनिया दोस्तिया गाविस–२ विजयपुरको झन्डै चार बिगाहा जमिन आफ्नो बनाउने फतुवा हर्षाहा निवासी सुरेन्द्र यादव र उनका भाइ नवलकिशोर यादव जेल चलान भएका हुन्।

प्रहरीले उनीहरूलाई बीस दिन अघि पक्राउ गरी अनुसन्धान गरी जिल्ला अदालतमा पेस गरेपछि न्यायाधीश लक्ष्मीनारायण ढुंगानाको इजलासले मागेको धरौटी तिर्न नसकेपछि जेल चलान भएका हुन्। मुलुकी ऐनको अदालती बन्दोबस्तीको ११८ को देहायको दफा ५ र १० बमोजिम जनही ३५ लाख धरौटी माग गरेकोमा उनीहरूले तिर्न नसकेपछि जेल चलान भएको स्रेस्तेदार चिन्तामणि शर्माले बताउनुभयो। अदालतले माग गरेको धरौटी रकम बुझाउन नसकेपछि दुवै जना जिल्ला कारागार गौर पठाइएको श्रेस्तेदार शर्माले बताउनुभयो। अदालतमा थुनछेक मुद्दामा बहस चलिरहँदा लक्ष्मीनिया दोस्तिया–२ विजयपुरका स्थानीय बासिन्दाहरू भू–माफियाविरुद्ध कारबाहीका माग गर्दै प्रदर्शनमा उत्रिएका थिए।

जयन्तकृष्ण मैत्रको नामको जमिन तत्कालीन सरकारले ०२५ सालमा २८ विगाहा जमिन मैत्रको नाममा कायम गरी बाँकी जमिन राष्ट्रियकरण गरेको थियो। सोही जमिनलाई यादवद्वयले कीर्ते नागरिकता प्रमाणपत्र बनाई आफ्नो नाममा बनाएको रहस्य खुलेपछि उनीहरू पक्राउ परेका थिए। सो जमिनमा ०३६ सालमा लालबकैया नदीबाट विस्थापित भएका ८७ घरधुरीका बासिन्दाको बसोबास रहँदै आएको छ।

यादवद्वयले मैत्रको नक्कली नागरिकताको प्रमाणपत्रको आधारमा काठमाडौं जिल्ला अदालतसमेतलाई झुक्याएर लक्ष्मीनिया–२ (क) विजयपुरको कित्ता नम्बर १०८ र २४६ को २ बिघा ९ कट्ठा १३ धुर जग्गा फतुवा हर्षाहा–६ का नवलकिशोर राय यादवको नाममा पास गराएपछि उनीहरूको कीर्ते कामको पर्दाफास भएको थियो। बस्तीसहितको जग्गा व्यक्तिगत नाममा पास गराएका समाचार प्रकाशित भएपछि जिल्ला प्रहरी कार्यालय रौतहटले फागुन २ गते सुरेन्द्र यादव र नवलकिशोर यादवलाई कटहरियाबाट पक्राउ गरी कारबाही प्रक्रिया शुरू गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्