म्याग्दीको नुन खानी अलपत्र



बेनी (म्याग्दी), १ चैत । म्याग्दीको शिख–९ कालीगण्डकी किनारमा ४ वर्षअघि पत्ता लागेको नुन खानी अनुसन्धान र उत्खननमा सरकारले चासो नदेखाएपछि अलपत्र परेको छ ।

विसं २०७० मा शिख कालीगण्डकी किनारमा नुनिलो पानीको मुहान फेला परेको थियो । बिरे नुनको गन्ध आउने करिब ५० डिग्री सेल्सियस तापक्रममा नुनिलो पानी निस्कने मुहान भेटिएपछि भूगर्भ विभाग र पुरातत्व विभागमा अनुसन्धानका लागि पठाइएको भएपनि अझसम्म त्यसको रिपोर्ट आउन नसकेको स्थानीयवासीले बताएका छन् ।

चार वर्षअघि तातोपानी कुण्ड संरक्षण गर्ने क्रममा डोजरले खनेर तलाउ बनाउँदा नुनिलो पानीको मुहान भेटिएको संरक्षण समितिका सदस्य पूर्ण पाइजाले बताउनुभयो । असोज–कात्तिकमा पानी जमेर नुन नै बन्ने गरेको पाइजाले बताउनुभयो । नुनिलो तातोपानी अहिले स्थानीयवासीका लागि प्राकृतिक उपचार केन्द्र बन्न थालेको छ ।

नुनपानीमा डुबेपछि घाउ, चोटपटक लागेको र शरीर दुख्ने समस्या निको हुने कुण्डका हेरालु जसबहादुर पाइजाले बताउनुभयो । म्याग्दीका एक दर्जन स्थानमा तातोपानीको मुहान भए पनि यो मुहानबाट निस्कने पानीमा नुनको मात्रा अत्यधिक पाइएको छ । नुन र बिरेनुनको गन्धको मात्रा अत्यधिक रहेकाले सो स्थानमा नुनखानी मात्र नभएर थप स्रोत पनि भेटिन सक्ने स्थानीय बासिन्दाले बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्