रुकुममा स्थानीय तहका कार्यालय खुले



नेपाल समाचारपत्र
रुकुम
सरकारले पुरानो संरचनाको स्थानीय निकाय भंग गरी नयाँ संरचनाअनुसारको स्थानीय तह कार्यान्वयनमा ल्याएपछि रुकुमका ९ स्थानीय तहमा कार्यकारी अधिकृतसहितको टोलीले सोमबारबाटै कार्यालय सञ्चालन गरी नियमित काम थालेको छ।

यसै गरी जिल्ला विकास समिति पनि सोमबारबाटै जिल्ला समन्वय समितिका रूपमा रहेको छ। जिल्ला समन्वय समितिको कार्यालय रुकुममा सोमबार बसेको स्थानीय तहसम्बन्धी बैठकले अहिलेसम्म काम गर्दै आएका गाविसको सचिवलाई वरिष्ठताको आधारमा निमित्त कार्यकारी अधिकृतका रूपमा नियुक्ति दिई काममा खटाएको हो।

सोहीअनुसार पुथा गाउँपालिकाको निमित्त कार्यकारी अधिकृत तिलक रावल, भूमे गाउँपालिकाको निमित्त कार्यकारी अधिकृतमा जसीराम खत्री, सिस्ने गाउँपालिकाको निमित्त कार्यकारी अधिकृतमा लोकबहादुर खत्री, बाँफिकोट गाउँपालिकाको निमित्त कार्यकारी अधिकृतमा ओमबहादुर खत्री, सानीभेरी गाउँपालिकाको निमित्त कार्यकारी अधिकृतमा खिमप्रकाश शाह, त्रिवेणी गाउँपालिकाको निमित्त कार्यकारी अधिकृतमा मानबहादुर खत्री, आठबिसकोट नगरपालिकाको निमित्त कार्यकारी अधिकृतमा कपिलदेव शर्मा, चौरजहारी नगरपालिकाको कार्यकारी अधिकृतमा महेश गुरुङ र मुसिकोट नगरपालिकाको कार्यकारी अधिकृतमा चन्द्रकान्त पौडेललाई जिम्मेवारी तोकिएको छ। अन्य सचिवहरूलाई वडा सचिवको जिम्मेवारी तोकिएको जिल्ला समन्वय समिति रुकुमका स्थानीय विकास अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्