तराई आन्दोलन कठोर हुने महतोको दाबी



शिवहरिप्रसाद भट्टराई, राजविराज
सद्भावना अध्यक्ष राजेन्द्र महतोले हाल चाडपर्वलाई ध्यानमा राखी स्थगित गरिएको आन्दोलन केही दिनमै पुनः सुचारु हुने बताएका छन्। उनले अबको आन्दोलन विगतको भन्दा कठोर हुने र यसका लागि हजारौं मधेसी युवाहरू सहादत दिन तयार रहेको बताउँदै ३ ठूला दलले मुलुकमा थप संकट आउन नदिन समयै समस्या समाधानका लागि पहल गर्नुपर्नेमा जोड पनि दिए।
आइतबार प्रेस मञ्च सप्तरीद्वारा यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले भने– ‘सरकारलाई बुझाएको सात दिन अल्टिमेटम सकिन अब २ दिन मात्र बाँकी छ, यस अवधिमा पनि सरकारले विषयको गाम्भीर्यतालाई बुझ्न सकेन भने मधेसमा आन्दोलनको आँधीबेहरी सृजना हुन्छ।

एमालेले मधेसीको ताजा घाउमा नुन छर्केर सप्तरी घटना गराएको बताए। महतोले भने– ‘पाँच जना शहीद भएको घटनाको मूल दोषी एमाले र एमाले अध्यक्ष केपी ओली हुन्। मधेसमा यसअघि नै ‘एमालेमुक्त मधेस नारा लगाइएको बताउँदै महतोले यो नारालाई आगोको संज्ञा दिँदै भने– ‘यो आगोमा घिउ थप्ने काम स्वयम्ले एमालेले गरेको छ।

उनले अहिले पनि मधेसलाई चिढाउने काम बन्द गरी संविधान संशोधनमा सहभागिता जनाएर मुलुकको समस्या समाधान गर्न एमालेसँग आग्रह गरे। ‘मधेस विरोधी रवैया छाड्नुस, मधेसीलाई अधिकार दिलाउने सवालमा अगाडि आउनु, एमालेसँग आग्रह गर्दै महतोले भने– ‘अन्यथा मधेसमा एमालेप्रतिको आक्रोश र वितृष्णा झन् बढ्दै जानेछ।

अध्यक्ष महतोले देशको मूलभूत समस्यातिर ध्यान नदिई सरकार र मुख्य दल अर्कैतिर लागेको बताए। ‘अहिले मुलुकमा जुन रोग देखा परेको छ, त्यसको औषधिउपचार नगरी सरकारले अर्कै उपचार गर्न खोजेको छ, महतोले भने– ‘टाउको दुखेको रोगमा पेट दुख्ने औषधि चलाइरहेको छ। यो रोगलाई झन् बढाउँछ।

सरकारले गराउन लागेको निर्वाचनप्रति संकेत गर्दै उनले आन्दोलनको माग सम्बोधन नगरी चुनाव हुन नसक्ने बताए। ‘यसो नगरी गराउने निर्वाचन हामी हुन दिन्नौं, उनले भने– ‘१८ वर्ष चुनाव नहुँदा के फरक पर्यो। त्यसैले दुई महिना समय बढाऔं र संविधान संशोधन गरी चुनावमा जाऔं।

संशोधन नगरी गराइने चुनावले अर्काे महाभारत हुने दाबी गर्दै उनले संविधानमा त्रुटि गर्नेहरूले नै दुई तिहाइ पुर्याई संविधान सच्याउनुपर्ने काम पनि गर्नुपर्ने उनको भनाइ छ। एमालेको मेची महाकाली राष्ट्रिय अभियानको विरोधका क्रममा गत सोमबार प्रहरीको गोली लागी मृत्यु भएका पाँचै जनाको घर पुगी आइतबार सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले शोक सन्तप्त परिवारलाई भेटेका छन्।
सो क्रममा उनले पार्टीका तर्फबाट मृतक परिवारलाई जनही २५ हजारका दरले सहयोग पनि वितरण गरे। शोक सन्तप्त परिवारलाई धैर्यता राख्न र हौसला बढाउँदै उनले मधेस आन्दोलनका क्रममा प्रहरीद्वारा मारिएकाहरूको वलिदान खेर नजाने बताए।

उनले यसरी मारिएका मधेसी सपुतहरूका सन्तानको शिक्षादीक्षा र भरणपोषणका लागि समेत आफूले व्यक्तिगत र पार्टीको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै शोकलाई शक्तिमा बदल्दै अघि बढ्न सबैसँग आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्