देशव्यापी आन्दोलन हुन्छः यादव



नेपाल समाचारपत्र
राजविराज
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी घटनाको विरोध तथा संविधान संशोधनको विषयलाई लिएर १⁄२ दिनभित्रै गठबन्धनको बैठक बस्ने र देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा हुने बताएका छन्।
अबको आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हुने भन्दै उनले राज्यले लिने नीतिले पनि आन्दोलनको स्वरूप निर्धारण गर्ने बताए।
आइतबार संघीय प्रेस फोरमले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। सप्तरी र कञ्चनपुरमा भएको हत्याको जवाफ सरकारले जनतालाई दिनुपर्ने उनको भनाइ थियो। सप्तरी र कञ्चनपुरमा भएको घटनापछि सरकारले जनताको सुरक्षा गर्न नसकेको पुष्टि हुने बताउँदै उनले यस विषयमा जनताले सरकारको जवाफ खोजिरहेको बताए।

नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा फागुन २३ गते भएको झडपमा मृत्यु भएकाहरूको शवयात्रा र श्रद्धाञ्जलीमा सहभागी हुन राजविराज आएका यादवले यस्तो बताएका हुन्। सरकारले सप्तरीमा आफैं गोली चलाएर ५ जनाको हत्या गरेको र कञ्चनपुरमा आफ्नै जनतालाई गोली हान्दा समेत सुरक्षा गर्न नसकेको उनको भनाइ थियो।

सप्तरीमा भएको घटना गृहमन्त्री विमलेन्द्र निधिले भनेझैं दोहोरो झडप तथा एमालेले भनेझै सामूहिक हत्याको षड्यन्त्र नभई राज्यको नश्लवादी चिन्तनको प्रतिबिम्व भएको यादवले आरोपसमेत लगाए। उनले उक्त घटना सप्तरी वा मलेठका जनता मात्र नभई सिंगो मधेसी जनतामाथिको प्रहार भएको भन्दै समयमा यसको जवाफ पनि मिल्ने प्रतिक्रिया दिए।

भारतीय प्रहरीको गोली लागी कञ्चनपुरको पुनर्वास नगरपालिकामा गोविन्द गौतम मारिएको घटनाका विषयमा बोल्दै यादवले भारतीय प्रहरीका तर्फबाट गोली नचलाइएको प्रतिक्रिया आएपछि त्यसको निस्पक्ष छानविन गरी यथार्थ जवाफ सरकारले दिनुपर्ने माग पनि गरे। उनले भने– ‘सरकार जनताको सुरक्षा गर्न असमर्थ छ भन्ने पुष्टि भएको छ, यसको छानविन गरी उत्तर दिनुपर्छ।

जबरजस्ती गर्न लागिएको स्थानीय निकायको चुनाव संघीय लोकतान्त्रिक गठबन्धनले हुन नदिने जिकिर गरे। आफूहरू चुनाव विरोधी नरहेको बताएका उनले पहिला संविधान सच्याउन र मधेसी, जनजाति, आदिवासी र अल्पसंख्यकको माग पूरा गर्न आग्रह गरे। संविधान नसच्याई हाल चर्चामा ल्याइएको चुनाव संघीय गणतन्त्र समाप्त पार्ने र मुलुकलाई उल्टो दिशामा लाने प्रयास भएको उनको प्रतिक्रिया छ।

यादवले नेपालका कम्युनिस्टहरूलाई सर्वहाराको मुखुण्डो ओढेका रोयलिस्टको संज्ञा दिँदै कम्युनिस्ट नेतृत्वकै कारण मुलुकमा सर्वहाराको भविष्य संकटमा परेको दाबी गरे। सरकारमा रहेका कम्युनिस्टहरूमार्फत् आएको वर्तमान निर्वाचन प्रणाली र संरचनाले सर्वहारा वर्गको चुनाव लड्न सक्ने सामथ्र्य पनि समाप्त पारेको उनले जिकिर गरे।
सञ्चारकर्मीले राखेको जिज्ञासाका क्रममा राजनैतिक शिष्टाचार पूरा गर्न सरकारलाई सात दिनको अल्टिमेटम दिइएको बताउँदै गठबन्धनको निर्णयअनुसार सात दिनसम्म पनि माग पूरा नभए आठौं दिन स्वतः सरकारलाई दिएको समर्थन फिर्ता हुने जानकारी पनि दिए।

अघिल्लो दिन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्ने तयारी गरे पनि तमलोपा, रामसपा, तमसपालगायतका मधेसवादी दलका अध्यक्षहरू आउन नसकेका कारण अन्तिम समयमा यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बेग्लाबेग्लै पत्रकार सम्मेलन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्