हिरासतका ७९ मध्ये ५३ जना लागुऔषध कारोबारी



हेटौंडा,(नेस) मकवानपुरको भीफेदीमा रहेको क्षेत्रीय कारागारमा जेलजीवन बिताइरहेका कैदीबन्दीमध्ये अधिकांश लागुऔषध कारोबारमा सजाय भोग्नेहरु छन् ।

लागुऔषधको मुख्य ‘ट्रान्जिट प्वाइन्ट’ मानिने मकवानपुरका युवा लागुऔषध ओसारपसार मुद्दामा देशका विभिन्न क्षेत्रका कारागारमा जेलजीवन बिताइरहेका छन् ।

आर्थिक बिपन्नता र रोजगारीका कारण बाध्य भएर लागुऔषध बोक्ने भरिया बन्दा जिल्लाका पश्चिमोत्तर १२ गाविसका ३ सय ५० भन्दाबढी युवा जेलजीवन बिताउन बाध्य भएका हुन् । युवाशक्ति विदेश पलायन हुनु सामान्य बन्दै गएको अबस्थामा युवाले जेलजीवन बिताइरहँदा गाउँको विकास ओझेलमा परेको छ ।

मध्य तराईका जिल्लामा गाँजा खेती फस्टाइको छ । शान्तिसुरक्षाको स्थिति कमजोर भएको मौका छोपी कृषक गाँजा खेतीतर्फ आकर्षित हुने गरेका छन् । अन्य बालीभन्दा गाँजा खेतीबाट बढी आम्दानी हुने भएकाले मध्यतराईका केही जिल्लामा सयौं बिगाहा जग्गामा गाँजा खेती हुने गर्दछ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासत कक्षमा अधिकांश थुनुवा लागुऔषध मुद्दाका छन् । जिल्ला प्रहरी कार्यालयका नायव प्रहरी उपरीक्षक वामदेव गौतमका अनुसार प्रहरी हिरासतमा रहेका ७९ जनामध्ये ५३ जना लागुऔषध कारोबार, ओसारपसार र प्रयोगकर्ताको आरोपमा हिरासतमा छन् ।

लागुऔषधको मुद्दामा प्रहरीले ९० दिनसम्म हिरासतकक्षमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिन्छ । अन्य थुनुवा भने सार्वजनिक मुद्दा, झैझगडा, सवारी मुद्दाका छन् । लागुऔषधको कारोबारीमाथि प्रहरीको विशेष निगरानी रहने गरेको छ । विशेषतः प्रहरीले सुराकीका आधारमा लागुऔषध कारोबारी, प्रयोगकर्ता र ओसारपसार गर्नेहरुलाई पक्राउ गर्न सफल हुने गरेको छ । लागुऔषध कारोबारमा अधिकांश भारतीय गाडी छन् ।

मकवानपुर र धादिङ जिल्लाबाट लागुऔषध गाँजा र चरेश ढुवानी गर्न भारतीय नम्बर प्लेटका गाडी धेरै प्रयोग हुने गरेको छ । नेपाली सिमाना पार गरेपछि भारतभर ढुवानी गर्न सहजता हुने, पर्सा जिल्लामा बाक्लो संख्यामा भारतीय नम्बर प्लेट भएका गाडी गुड्ने भएका कारण पछिल्लो समय मकवानपुरसम्म आउन तस्करहरुको मनोवल बढेको देखिन्छ ।

मकवानपुरको सीमाा कटाउन सके तस्करलाई पर्साहुँदै भारत प्रवेश गर्न सहजताका लागि पनि भारतीय साना गाडीको प्रयोग बढी हुन थालेको छ । ठूला सवारीका साधन ट्रक, ट्यांकर पनि तस्करले प्रयोग गर्ने गरेका छन् । लागुऔषध गाँजा ढुवानी गर्न प्रयोग गरिएको एउटा एलपी ग्यास ढुवानी गर्ने ट्यांकर र ३ वटा ट्रक प्रहरी नियन्त्रणमा छ । २ वटा कार र एउटा जीप पनि प्रहरी नियन्त्रणमा छ ।

लागुऔषध ओसारपसार, प्रयोगकर्ताहरुको मोटरसाइकल, स्कुटर पनि प्रहरीले नियन्त्रणमा लिएको छ । भारतको रक्सौल क्षेत्रबाट लागुऔषध डाइजेपाम, नुर्फिन, फेनारगन, खैरो हेरोइन ल्याउने क्रममा मकवानपुर प्रहरीले रातोमाटे प्रहरी पोष्टबाट बरामद गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्