बन्दले जनजीवन प्रभावित



नेपाल समाचारपत्र
राजविराज
संयुक्त लोकतान्त्रीक मधेसी मोर्चा सप्तरीले आह्वान गरेको अनिश्चित्कालीन सप्तरी बन्दका कारण बिहीबार चौथो दिन पनि जिल्लाको जनजीवन पूर्ण रूपमा अशान्त भएको छ।

एमालेको मेची–महाकाली अभियानका क्रममा सोमबार प्रहरीको गोली लागी ४ जनाको मृत्यु र दर्जनौं कार्यकर्ता घाइते भएपछि मोर्चाले सोही दिनदेखि अनिश्चित्कालीन सप्तरी बन्दको घोषणा गरेको थियो। यसै क्रममा बिहीबार पनि तोडफोड र आगजनीका घटना भएका छन्।

मोर्चाका कार्यकर्ताले राजविराज–४ स्थित भूमिसुधार कार्यालयमा तोडफोड र आगजनी गरेका छन् भने राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता चढेको बा७च ७४७९ नं. को गाडीमा पनि तोडफोड गरेका छन्। मलेठमा मृतक परिवारलाई भेट्न पुगेकी आयोगकी प्रवक्ता मोहना अन्सारी गाडीमा फर्किनै लाग्दा अचानक मृतकका दाजु रञ्जन मेहताले गाडीमा ढुंगामुढा गरी तोडफोड गरेका थिए।

यसैगरी, बन्दको अवज्ञा गरेको भन्दै मोर्चाका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रूपनीमा झन्डै एक दर्जन सवारीसाधनमा तोडफोड गरेका छन। यता, लगातार चौथो दिन पनि सप्तरीमा यातायात, बजार, शैक्षिक संस्था तथा सरकारी कार्यालय ठप्प हुँदा जनजीवन कष्टकर भएको छ। नजिकिँदै गरेको होली पर्व र लगनको समयमा भएकाले लगातारको बन्दले जनजीवन अस्तव्यस्त भएको हो।

प्रतिक्रिया दिनुहोस्