जुत्ता सही नहुँदा टापु गुमाएका खेलाडी



न्युयोर्क, (एजेन्सी)
एक खेलाडीका लागि पूरै टापु पुरस्कारका रूपमा पाएमा त्यो जस्तो सुन्दर पुरस्कार अरू कुनै हुने छैन। खेलाडीले पूरै जीवन खेलमै बिताएका हुन्छन्। कोही धनी बन्छन् कोही पैसा कमाउन सकिँदैन। खेलमा लागेर अझ पूरै एक टापु जितेर पनि पाउँदैन भने त्यो भन्दा दुःखद घडी अरू हुन सक्ला त ?

यस्तै प्रसंगमा अमेरिकी फुटबल खेलोडी जान रासले पुरस्कारमा पूरै एक टापु जिते। तर केवल जुत्ता गलत लगाएको हुँदा उनलाई पुरस्कारबाट वञ्चित गरायो। कुरा के भने खेल सामग्री उत्पादन कम्पनी एडिडासले घोषणा गरेको थियो कि ४० यार्ड ड्यास (३६.५८ मिटर) दौडमा रेकर्ड बनाउने फुटबल खेलाडीलाई पुरस्कारमा एक पू्रै टापु दिने।

कलेजको टिममा खेलिसकेका जान रासले एनएफएल कंबाइन प्रतियोगितामा उक्त चुनौती पूरा पनि गरेका थिए। तर उनले पुरस्कार पाउन सकेनन्। उनले दौडिँदा एडिडासको नभई नाइक कम्पनीको जुत्ता लगाएका थिए। सर्त यही थियो कि खेलाडीले एडिडास कम्पनीकै जुत्ता लगाउनुपर्छ। तर रासले अर्कै कम्पनीको जुत्ता लगाएकाले जितिसकेको टापुसमेत गुमाउन पुगे।

टापुको मूल्य १० लाख अमेरिकी डलर बताइएको थियो। कम्पनीले यो पनि जानकारी गराएको थियो कि यदि विजेताले टापु नलिने हो भने पुरस्कारमा १० लाख डलर (१० करोड ४० लाख रुपियाँ बराबर नेपाली रकम हुन्छ) लिन सकिनेछ। रासले ४० यार्डको दूरी ४.२२ सेकेन्डमा पूरा गरेका थिए। यसअघि सो दूरी क्रिस जोनसनले सन् २००८ मा ४.२४ सेकेन्डमा पूरा गरेर रेकर्ड राखेका थिए।

एडिडाससँग सम्झौता गर्न नपाए पनि रासले नाइक कम्पनीसँग सम्झौता गरेका छन्। नाइकसँगको सम्झौतापछि उनलाई नाइक कम्पनीले हौसला प्रदान गरिरहेको र टापु गुमाएको पीडामा पनि मलम लगाइरहेको ईएसपीएनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्