चुनावका लागि दलहरु सक्रिय



नेपालगन्ज, २४ फागुन । आगामी वैशाख ३१ गते स्थानीय निकायको निर्वाचन गर्ने मिति सरकारले घोषणा गरेसँगै बाँके जिल्लाका राजनीतिक दललाई चुनावी रापले तताएको छ ।

जिल्लाका नेता, कार्यकर्ता अहिलेदेखि नै आ–आफ्नो पार्टीको एजेन्डा लिएर गाउँगाउँ र टोलटोलमा पस्न थालेका छन् भने स्थानीयबासी लामो प्रतिक्षापछि नेता भेट्न पाउँदा मख्ख परेका छन् ।

जिल्लाका सडक, चोक, गाउँ, सहर सबै स्थानमा अहिले स्थानीय तह निर्वाचनकै कुराले प्राथमिकता पाउन थालेको छ । नागरिकमा अहिले चुनाव होला कि नहोला भन्ने आशङ्का देखिए पनि कतैबाट खासै विरोधका कार्यक्रम र स्वर सुन्न नआएकाले पनि चुनाव हुनेमा चुनावका पक्षमा रहेका दलहरु ढुक्क देखिएका छन् ।

त्यसैगरी, यसअघि शान्त झै देखिने जिल्ला निर्वाचन कार्यालयका कर्मचारी पनि आवश्यक साधन, स्रोत जुटाउन, दलसँग अन्तक्र्रिया गर्नलगायतका व्यवस्थापकीय काममा व्यस्त देखिन थालेको पाइन्छ ।

क्षेत्रीय निर्वाचन कार्यालय, बाँकेका सूचना अधिकृत काशीलाल अधिकारीका अनुसार गत असोज मसान्तसम्म सङ्कलन गरिएको लगतअनुसार यस जिल्लामा दुई लाख ४० हजार ९८७ मतदाता रहेका छन् । कुल मतदातामध्ये एक लाख १७ हजार ८०३ महिला र पुरुष एक लाख २३ हजार १८३ रहेका छन् ।

सो कार्यालयका अनुसार, हालसम्म निर्वाचन प्रयोजनका लागि यहाँका २७ दलले सबै कानुनी प्रक्रिया पूरा गरी निर्वाचन कार्यालयमा दल दर्ता गराएका छन् ।

तर, अन्तिम मतदाता नामावली अद्यावधिक गर्न केही प्रक्रिया बाँकी रहेकाले नामावलीमा केही सङ्ख्या थपघट हुनसक्ने सूचना अधिकृत अधिकारीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्