आँखाको अप्रेसनले संसार देखियो



?

दीपेन्द्र शर्मा, जाजरकोट
गाउँमै आँखाको अप्रेसन भएपछि जाजरकोटका मोतीविन्दुका बिरामी खुसी भएका छन्। रोगले कुनै पनि वस्तु देख्न नसक्ने भएका मोतीविन्दुका बिरामीहरूले आँखाको रोशनीले संसार देख्न सक्ने भएपछि खुसी भएका हुन्।

मोतीविन्दु रोगका कारण दुई वर्ष पहिलेदेखि आँखा देख्न छोडेका नायकवाडा–२ रावत जिरीका ७० वर्षीय दलबहादुर रोकायको आँखा अप्रेसन भएपछि आँखा देख्न सक्ने भएर घर फर्केका छन्। तीन दिनको पैदल यात्रामा अर्काको सहारामा रिम्ना पुगेका रोकाय आँखा अप्रेसनपछि आफैं हिँडेर घर फर्किन सक्ने भएका हुन्।

लहँ–१ भारगाउँकी ४५ वर्षीया आइती बुढा मोतीविन्दुका कारण दुई वर्ष पहिलादेखि आँखा देख्न छोडिसकेकी थिइन्। उनकी २२ वर्षीया छोरी भवी बुढा विगत ९ महिनादेखि दुवै आँखा देख्न नसक्ने भइन्। दुई दिनको पैदल यात्रा गरेर रिम्ना पुगेका आमा⁄छोरी दुवैको सफल आँखा अप्रेसन भएपछि निकै खुसी भएका छन्। २२ वर्षको उम्मेरमा आँखा देख्न नसक्ने भएकी भवी बुढा आँखा देख्न सक्ने भएपछि आफूले नयाँ जीवन पाएको बताउँछिन्।

जाजरकोट रिम्नामा सञ्चालन गरिएको आँखा शिविरबाट रुकुम र जाजरकोट जिल्लाका विभिन्न ठाउँका ५ सय ४५ जना बिरामीले सेवा लिएको नेपाल रेडक्रस सोसाइटी, जाजरकोट शाखाका मन्त्री हरि बस्नेतले जानकारी दिए। तीन दिनसम्म सञ्चालन गरिएको आँखा शिविरले १ सय ४१ जना मोतीविन्दुका बिरामीहरूको आँखा अप्रेसन गर्न सफल भएको बस्नेतले बताए। उक्त शिविरमा बाइमेट्री लेन्स पावर जाँच मेसिनको प्रयोग गर्नुका साथै, पर बिरामी पर अप्रेसन सामग्री प्रयोग गरेर बिरामीलाई सेवा प्रवाह गरिएको बस्नेतले बताए। अप्रेसन गरिएका अधिकांश बिरामी महिला, दलित जनजातिहरू रहेको उनले जानकारी दिए।

नेपाल रेडक्रस सोसाइटी, सुर्खेत आँखा अस्पतालको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा जाजरकोट, जुरेस भेरी त्रिवेणी मावि रिम्ना र भेरीमालिका नगरपालिकाको आयोजनामा यही फागुन १९ गते देखि २१ गतेसम्म भेरी त्रिवेणी मावि रिम्नामा तीनदिने निःशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्