तीन जिल्लामा रोटरीको निःशुल्क आँखा शिविर ६८ प्रतिशतलाई चस्मा



नेपाल समाचारपत्र
बाँके
रोटरी अस्ट्रेलियाको सहयोगमा रोटरी क्लब धुलिखेल र सामुदायिक विकास तथा उद्धार नियोग, नेपालले बाँके, बर्दिया र कैलाली जिल्लामा निःशुल्क आँखा शिविर गरेको छ।

बर्दिया र कैलाली सिध्याएर आएको टोलीले सोमबार बाँकेको टिटिहिरियामा शिविर राखेको थियो। तीनै जिल्लाका तीन⁄तीन ठाउँमा रोटरीले शिविर राखेको छ। २५ जना विदेशीसहित ४२ जनाको टिमले कैलालीको कृष्णपुर, लम्की र हसुलिया, बर्दियाको बगनाह, ठाकुरद्वारा र नेउलापुरमा शिविर चलाएको थियो। बाँकेको टिटिहिरिया, नौबस्ता र महादेवपुरी गाविसमा शिविर राखिएको छ। टिटिहिरियामा सोमबार सम्पन्न भएको छ।

तीन जिल्लाका नौमध्ये सात ठाउँमा भएको शिविरमा ५ हजार ८ सय १३ जनाले सेवा लिएका छन्। सेवा लिनेमा महिला बढी छन्। सेवा लिनेमध्ये ३ हजार ९ सय २७ जनालाई चस्मा वितरण गरिएको छ। ६५ जनालाई मोतीविन्दुको अप्रेसनका लागि सिफारिस गरिएको छ। निःशुल्क आँखा शिविरको स्थानीय संयोजन जाजरकोटी समाजले गरेको छ।
बाँकेको टिटिहिरियामा सबैभन्दा धेरैले सेवा लिएका छन्। यहाँ १ हजार १ सय ६ जनाले आँखा जाँच गराएका छन्। तीमध्ये ४ सय ६७ महिला, ३ सय ३ पुरुष र ३ सय ३६ जना स्कुले विद्यार्थी थिए। टिटिहिरियामा ६ सय ४० जनालाई चस्मा वितरण गरिएको छ। ४ जना मोतीविन्दु अप्रेसनका लागि सिफारिस गरिएको छ।

शिविर संयोजक अनुपकुमार श्रेष्ठका अनुसार, कैलालीको कृष्णपुरमा ९ सय २, लम्कीमा ८ सय १७, हसुलियामा ७ सय ४ जना, बर्दियाको बगनाहमा ९ सय ४, ठाकुरद्वारामा ६ सय २७ र नेउलापुरमा ७ सय ५३ जनाले आँखा जाँच गराएका छन्। कैलालीमा १ हजार ६ सय ५० र बर्दियामा १ हजार ६ सय ३७ जनालाई चस्मा वितरण गरिएको थियो। कैलालीमा ५७ र बर्दियामा १४ जनालाई मोतीविन्दु अप्रेसनका लागि सिफारिस गरिएको छ। सबै ठाउँमा आँखा जँचाउन आउनेमा महिला बढी छन्। बाँके टिटिहिरियाकी ६० वर्षीया गौरी खड्काले आँखामा आँशु बगिरहने समस्या भएपछि शिविरमा जचाउन आएको बताउनुभयो। उहाँले गाउँमै आँखा चलाउने सुविधा पाएकोमा खुसी प्रकट गर्नुभयो। खड्कालाई शिविरमा चस्मा मिलेको थियो।

प्रतिक्रिया दिनुहोस्