संगीता कथा काठमाण्डु बुन्दै



भीजे संगीता श्रेष्ठ अब फिल्म निर्देशनमा डेब्यु गर्ने भएकी छिन्। म्युजिक भिडियो र छोटा फिल्म निर्देशनको अनुभवपछि संगीताले ठूलो पर्दाको फिल्म निर्देशन गर्न लागेकी हुन्। उनले निर्देशन गर्न लागेको डेब्यु फिल्म कथा काठमाण्डु निर्माणको सोमबार राजधानीमा आयोजित एक समारोहबीच घोषणा गरिएको छ।

फिल्ममा प्रियंका कार्की, आयुष्मान देसराज जोशी, प्रमोद अग्रहरी, सन्ध्या केसी, संजोग कोइराला र प्रेक्षा अधिकारी मुख्य भूमिकामा हुनेछन्। ‘फिल्ममा ३ फरक–फरक कथा जोडिएको छ। सम्भवतः नेपाली फिल्ममा यस्तो प्रयोग भएको छैन’, संगीताले फिल्मबारे जानकारी गराउँदै भनिन्– ‘३ फरक–फरक कथा भए पनि सबै कथाका पात्रसँग एक–अर्काको कनेक्सन हुन्छ।’ फिल्म प्रेमकथामा हुने पनि उनले खुलाइन्। नायिका प्रियंका कार्कीले फिल्ममा आफू चुनौतीपूर्ण भूमिकामा हुने दाबी गरिन् भने चपली हाइट–२ बाट उदाएका नायक आयुष्मान देसराज जोशीले राम्रो कथामा आफू जहिले पनि उत्साहित हुने भन्दै चलचित्र खेल्नका लागि १० लाख पारिश्रमिक मागेको विषय हल्लामात्र भएको प्रस्ट पारे।

आहाना फिल्म्स्को प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको छायांकन भोलि बुधबारबाट शुरु हुनेछ। विजय राईले निर्माण गर्ने फिल्ममा लुजाओ विन्ङको छायांकन रहनेछ।

प्रतिक्रिया दिनुहोस्