बाबियाचौर (म्याग्दी), २२ फागुन । गत वर्षको भूकम्पले भत्काएको म्याग्दीको भकिम्ली–२ मा रहेको मुसुङडोले आधारभूत विद्यालयको कक्षाकोठा भवन पुनर्निर्माण गरिएको छ ।
भूकम्पका कारण भत्किएको तीनकोठे भवन रु १६ लाखभन्दा बढीको लागतमा पुनर्निर्माण गरिएको हो । भवन पुनर्निर्माणका लागि बेलायतको ब्रिटिस गोर्खा वेयलफेयर संस्थाले रु १२ लाख सहयोग गरेको थियो ।
स्थानीय स्तरबाट थप रु चार लाख ७४ हजार बराबरको श्रमदान जुटाएर भवन पुनर्निर्माण गरिएको प्रधानाध्यापक शेरबहादुर विश्वकर्माले बताउनुभयो । बालमैत्री संरचना भएको सो भवन भूकम्प प्रतिरोधी क्षमताको हो । भवन बनाउन विद्यालय सेवा क्षेत्रका तीन सय घरधुरीले श्रमदान गरेका थिए । कक्षा ८ सम्मको पठनपाठन हुने विद्यालयमा दुई सय पाँचजना विद्यार्थी अध्ययनरत छन् ।
यसैगरी सो विद्यालयमा जिल्ला शिक्षा कार्यालयको रु १३ लाख ५० हजार अनुदानमा अर्को दुईकोठे कक्षाकोठा भवन पनि पुनर्निर्माण भइरहेको छ । रासस