एमालेको अभियान बिथोल्ने तयारीमा मोर्चा



शिवहरिप्रसाद भट्टराई, राजविराज
युक्त लोकतान्त्रीक मधेसी मोर्चा सप्तरीले मेची महाकाली राष्ट्रिय अभियानअन्तर्गत सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र शीर्ष नेताहरूसहित आउने टोलीलाई अवरोध गर्ने र सदरमुकाम राजविराजमा कार्यक्रम हुन नदिने घोषणा गरेपछि यहाँ तनाव बढ्दै गएको छ।

मोर्चाका कार्यकर्ताले एमालेको सो अभियान जसरी पनि बिथोल्ने तयारी थालेपछि स्थानीय प्रशासनले कुनै पनि अप्रिय घटना हुन नदिन व्यस्त देखिएका छन्। यद्यपि मोर्चाले आफूहरू आन्दोलनमै रहेको र त्यसलाई अवरोध पुर्याउने कुनै कार्य हुन नदिने हिसाबले आफूहरू अघि बढेको बताउँदै आएका छन्।

एमाले कार्यक्रम बिथोल्न खोज्दा हुन सक्ने सम्भावित झडपलाई लिएर दुई दिन यता प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूबीच सुरक्षा रणनीतिबारे निरन्तर छलफल भइरहेको छ। यसको तयारीस्वरूप जिल्लाका संवेदनशील स्थान तथा चौकचौकमा व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

एमालेले कार्यक्रम गरेरै छोड्ने र मोर्चाले कुनै पनि हालतमा कार्यक्रम हुन नदिने अडान लिएपछि झडपको सम्भवना बढ्दै गएको हो। मोर्चाले एमालेको सोमबार हुने कार्यक्रमलाई बिथोल्न सोही दिन चक्काजाम, जिल्लाका प्रमुख बजारमा मसाल र लाठी जुलुस तथा विरोध सभालगायतका कार्यक्रम घोषणा गरिसकेको छ।

आफ्नो आन्दोलन सँगसँगै एमालेको कार्यक्रम बिथोल्ने रणनीतिअनुसार नै अघिल्लो दिन एमाले सप्तरीका सदस्य प्रतापनारायण चौधरीलाई कालोमोसो दल्नुका साथै एमाले सांसद रञ्जु झा ठाकुर चढेको गाडीमा ढुंगामुढा गरेका मोर्चाका कार्यकर्ताले शनिबार जिल्लाका प्रमुख बजारमा मोटरसाइकल र्याली गरेर एमालेको अभियान जुनसुकै हालतमा रोक्ने चेतावनी दिएका छ। यद्यपि शुक्रबारको कार्यक्रम मधेसी जनताले स्वतःस्फूर्त रूपमा गरेको मोर्चाका संयोजक यादवको भनाइ छ।

र्यालीका सहभागीले एमाले अध्यक्ष ओली मधेस विरोधी भएको भन्दै उनीविरुद्ध चर्को नाराबाजी गर्दै बजार परिक्रममा गरेका छन्। मोर्चाले एमालेको सो अभियान बिथोल्न र त्यसका लागि जनसहभागिता बढाउने उद्देश्यले गाउँगाउँमा माइकिङ र पर्चा वितरण गरिरहेको छ।

एमालेको मेची महाकाली अभियानअन्तर्गत अध्यक्ष केपी ओली सप्तरी आउने निश्चित भएपछि मोर्चाले त्यसको प्रतिकार गर्ने निर्णय गरेको मोर्चा सप्तरीका संयोजक दिनेशकुमार यादवको भनाइ छ। उनले एमाले अध्यक्ष ओलीको विभिन्न समयमा आएको मधेस विरोधी अभिव्यक्ति र अडानका कारण मधेसका जनता स्वतःस्फूर्तमा रूपमा प्रतिकारमा उत्रेको बताए।

एमाले जिल्ला अध्यक्ष गोविन्द न्यौपानेले लोकतन्त्रमा प्रजातान्त्रिक तरिकाबाट सबै दल र समुदायले आ आफ्नो विचार लिएर जनतामा जान पाउनुपर्छ भन्दै मोर्चाको यस्तो रवैया अराजकताको नमुना भएको प्रतिक्रिया दिएका छन्।

प्रहरी उपरीक्षक दिवेश लोहनीले एमालेको मेची महाकाली अभियान र मोर्चाले त्यसलाई अवरोध पुर्याउने विषयमा आफूहरू गम्भीर रहेको बताए। उनले यस क्रममा कुनै पनि अप्रिय घटना नहोस् भन्नका लागि प्रहरी प्रशासनले आवश्यक सम्पूर्ण तयारी गरिएको जानकारीसमेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्