सुनसान छ नेपालकै नमुना स्वास्थ्य चौकी



ललित सिंह, बझाङ
ई वर्ष अगाडिको कुरा हो। सुनिकोट स्वास्थ्य चौकीको माहोल नै अर्कै हुन्थ्यो। वरिपरिको सफा सुग्धर वातावरण, चारैतिर मौसमअनुसारका ढकमक्क फूलबारी, व्यवस्थित बिरामी बस्ने ठाउँ, हेर्दा लाग्थ्यो यहाँ आउने बिरामीको आधा रोग त यहाँको वातावरणले नै निको हुन्छ होला।

गाविस स्तरको स्वास्थ्य चौकी भए पनि यहाँ बिरामीको चाप जिल्ला अस्पतालमा जति नै हुन्थ्यो। सुनिकोट आसपासका धमेना, रिलु, मेलबिसौना, दाँतोला गाविसका मात्र हैन। जिल्ला अस्पताल र स्थानीय मेडिकलमा निको नभएका टाढाटाढाका बिरामीहरू पनि यहाँ पुग्ने गर्थे। यसैले नेपाल सरकारले सुनिकोट स्वास्थ्य चौकीलाई नेपालकै नमुना स्वास्थ्य चौकीका रूपमा पुरस्कृत गरेको थियो।

‘बिरामी र बिरामीका आफन्तको भीडभाडले सुनिकोट बजारको चहलपहल नै अर्कै हुन्थ्यो, स्थानीय सरस्वती थापाले भनिन्– ‘त्यति बेला स्वास्थ्य चौकीले सुनिकोट गाविस कै सान बढाएको थियो। विभिन्न जिल्लाका स्वास्थ्यकर्मी स्वास्थ्य संस्था व्यवस्थापनको नमुना हेर्नका लागि यहाँ आउने गरेको उनले सुनाइन्।

झन्डै १० वर्ष यसै यहाँ काम गरेर देशकै नमुना स्वास्थ्य चौकी बनाउन सफल भएका तत्कालीन इन्चार्ज केशव भट्टराई यहाँबाट गएपछि भने स्वास्थ्य चौकी सुनसान जस्तै भएको छ। फूलको सुरक्षाका लागि हालिएका बारहरू भाँचिएका छन्। सूचनापाटी खाली छ। झट्ट मान्छेले बस्न छोडेको घरजस्तो देखिन्छ सुनिकोट स्वास्थ्य चौकी अहिलेका स्वास्थ्य चौकी इन्चार्ज राजु विक भन्छन्– ‘अहिले दैनिक ८⁄१० जना बिरामी आउने गरेका छन्। केशव भट्टराई हुँदाको जस्तो बिरामीको भीड छैन।

‘त्यस बेला जिल्ला अस्पतालमा पनि गुणस्तरीय सेवा थिएन। अहेवले नै बिरामी हेर्थे त्यसैले जिल्ला अस्पतालमा ठीक नभएका बिरामी पनि यतै आउने गर्थे, विकले भने– ‘अहिले जिल्ला अस्पतालले पनि विशेषज्ञ दिइरहेको छ। गाउँतिरका स्वास्थ्य संस्थाहरूले पनि राम्रै सेवा दिएका कारण यहाँ आउने बिरामीहरू घटेका छन्। यातायातको सञ्जाल विस्तारका कारण पनि बिरामीहरू सुविधायुक्त संस्थामा जाने भएकाले यहाँको चाप घटेको उनले बताए।

नमुना स्वास्थ्य संस्थाको पुरस्कार पाइरहेको यस चौकीको गरिमा कायम गर्न जिल्ला स्वास्थ्य कार्यालयले माग गरेको खण्डमा जस्तोसुकै सहयोग गर्न तयार रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। ‘कतिपय कुरा त व्यक्तिको कार्यशैलीमा पनि भर पर्दाे रहेछ, उनले भने– ‘केशव भट्टराई जतिकै प्रतिबद्ध र लगनशील स्वास्थ्यकर्मी अरू पाउन गाह्रो छ। तर पनि जिल्लाकै सानका रूपमा रहेको कुराको गरिमा घट्न दिनुहुन्न भनेर लागिरहेका छौं। त्यहाँका साथीहरू पनि खटिरहेका छन्।

स्वास्थ्य चौकीलाई नेपालकै नमुना बनाउन सफल भएका केशव भट्टराईले यस गाविसमा छाउपडी प्रथा, छोरीलाई स्कुल नपठाउने चलनजस्ता विभिन्न सामाजिक विकृतिविरुद्ध अभियान पनि चलाएका थिए। स्वास्थ्य संस्थाको माध्यमबाट सामाजिक रूपान्तरणमा काम गरेको भन्दै उनले तत्कालीन राष्ट्रपति रामवरण यादवबाट जनसेवा श्री पदकबाट समेत विभूषित भएका थिए। बझाङ हुँदै श्रीमतीको मृत्यु भएपछि भट्टराई यहाँबाट सरुवा भएर रूपन्देहीमा कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्