बार्सिलोनाद्वारा गोलवर्षा



लन्डन, (एजेन्सी)
स्पेनिस ला लिगाअन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले गोल वर्षा गरेको छ।

घरेलु मैदान नोउक्याम्पमा बार्सिलोनाले स्पोर्टिङ गिजोनविरुद्ध ६–१ गोलअन्तरको जित निकालेको हो। उक्त जितसँगै बार्सिलोना स्पेनिस ला लिगाको अंकतालिकामा शीर्षस्थानमा उक्लिएको छ। खेलको नवौं मिनेटमा लियोनल मेसीको गोलबाट टोलीले शुरुआती अग्रता लिएको थियो। अग्रता लिएको दुई मिनेट नबित्दै लुइस स्वारेजले टोलीको अग्रता दोब्बर पारे।

यस्तै खेलको २१औं मिनेटमा गिजोनका कास्ट्रोले गोल गर्दै गोलअन्तर कम गरे। तर खेलको २७औं मिनेटमा स्वारेजले ब्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफसम्म बार्सिलोना ३–१ ले अघि रह्यो। दोस्रो हाफको शुरुआतमा नै पाको अलासरले गोल गर्दै बार्सिलोनाको गोलसंख्या चार पुर्याए। यस्तै खेलको ६५औं मिनेटमा नेयमारले पाँचौ गोल गरे भने ८७औं मिनेटमा राकिटिकले गोल गर्दै बार्सिलोनाको जित ६–१ ले सुनिश्चित पारे।

रियल जोगियो
तीन मिनेटको अन्तरमा क्रिस्टियानो रोनाल्डोले लगालग दुई गोल गरेपछि स्पेनिस ला लिगाको शीर्ष टोली रियल मेड्रिड लस पल्माससँग हारबाट जोगिएको छ।

गेरेथ बेलले खेलको ४७औं मिनेटमा रातो कार्ड पाएको खेलमा रियल मेड्रिडले लस पल्माससँग ३–३ गोलको बराबरीमा चित्त बुझाएको हो। खेलको निर्धारित समय सकिन ५ मिनेट बाँकी छँदासम्म १० जनामा समेटिएको रियल मेड्रिड ३–१ ले पछाडि रहेको थियो। तर ८६औं मिनेटमा पेनाल्टीमा गोल गर्दै क्रिस्टियानो रोनाल्डोले रियलको खेलमा फर्कने आशालाई जिवितै राखे। जसलाई खेलको ८९औं मिनेटमा अर्को गोल गर्दै पूर्णता दिए।

घरेलु मैदानमा भएको उक्त खेलमा यसअघि रियलले आठौं मिनेटमा नै इस्कोको गोलबाट शुरुआती अग्रता लिएको थियो। तर दुई मिनेटपछि नै डोमनिङजेले गोल गर्दै खेललाई बराबरीमा ल्याए। पहिलो हाफसम्म १–१ को स्थितिमा रहेको उक्त खेलको ५६औं मिनेटमा भिएराले पेनाल्टीमा गोल गर्दै लस पल्मासलाई २–१ को अग्रता दिलाएका थिए। त्यसको तीन मिनेट नबित्दै बोटेङले पल्मासका तर्फबाट तेस्रो गोल थपेका थिए।
उक्त बराबरीपछि रियल मेड्रिड अंक तालिकाको दोस्रोस्थानमा झरेको छ। पहिलो स्थानमा उक्लेको बार्सिलोनाभन्दा एक खेल कम खेलेको रियलले २४ खेलबाट ५६ अंक जोडेको छ। यता बिहीबारको जितसँगै बार्सिलोना ला लिगाको शीर्षस्थानमा उक्लियो। बार्सिलोनाको २५ खेलबाट ५७ अंक छ।

प्रतिक्रिया दिनुहोस्