म्यानचेस्टर युनाइटेडलाई फाप्दै इब्राहिमोभिच



लन्डन, (एजेन्सी)
गत आइतबार म्यानचेस्टर युनाइटेडले यस सिजनको इंग्लिस फुटबल लिगको उपाधि जित्यो। योसमेत युनाइटेडले उक्त उपाधिमाथि छैठौपटक कब्जा गरेको हो। यो उपाधि म्यानचेस्टर युनाइटेडका लागि सर एलेक्स फर्गुसनले सन् २०१३ मा क्लबबाट विश्राम लिए यताकै दोस्रो घरेलु उपाधि हो। यसअघि दुई वर्ष क्लब सम्हालेका डच प्रशिक्षक लुइस भान गालले युनाइटेडलाई एउटै मात्र उपाधि दिलाएका थिए। भान गालको प्रशिक्षणमा १२औंपटक एफए कप जिते यता युनाइटेडले उपाधिको खडेरीलाई यसै साता सिचेको हो।

भान गाल असफल भएपछि गत मे महिनामा युनाइटेडले माउरिन्होंसँग तीन वर्षे सम्झौता गर्यो। त्यसको दुई महिनापछि माउरिन्होंले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट एकजना पाको खेलाडीलाई युनाइटेडमा भित्राए। ३५ वर्षीय साढे ६ फिट अग्ला यी खेलाडी हुन् ज्लाटन इब्राहिमोभिच। वास्तवमा अहिले युनाइटेडका लागि माउरिन्होको उक्त छनोट सही सावित हुन थालेको छ।

सन् २०१६ को जुलाईमा फ्रि–एजेन्ट प्रक्रियाअन्तर्गत ज्लाटन इब्राहिमोभिचले म्यानचेस्टर युनाइटेडसँग एक वर्षे सम्झौता गरेको थियो। खेल प्रदर्शनको आधारमा सम्झौता अवधि घटबढ गर्ने क्लबको प्रावधानअनुसार उनी अहिले युनाइटेडमा आबद्ध छन्। जसअनुसार युनाइटेडमा उनले प्रतिसाता २ लाख स्टर्लिंग पाउन्ड पारिश्रमिक पाउने गरेका छन्। महंगो पारिश्रमिकअनुसार म्यानचेस्टरमा उनले आफ्नो उपस्थितिलाई पनि सार्थक पार्दै आएका छन्। जसमध्येको एउटा शुरुआती उदाहरण बन्यो एफए कम्युनिटी सिल्ड। सन् २०१६ मा सम्पन्न एफए कम्युनिटी सिल्डको उपाधि म्यानचेस्टरलाई दिलाउन उनले महत्वपूर्ण योगदान गरे। त्यसको एक सातापछि भएको इंग्लिस प्रिमियर लिगको डेब्यु खेलमै उनले बाउर्नमाउथविरुद्ध लामो दूरीको प्रहारमा आकर्षक गोल गरे। त्यसको दुई सातापछि म्यानचेस्टरको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा साउथह्यामप्टनविरुद्ध दुई गोल गर्दै घरेलु मैदानमा पहिलो जित दर्ता गराए। सोही वर्षको नोभेम्बरमा युनाइटेडले स्वान्सी सिटीविरुद्ध ३–१ को जित दर्ता गराउँदा उनले दुई गोलको योगदान गरे। जुन इंग्लिस प्रिमियर लिगको इतिहासमा २५ हजार गोलसमेत बनेको थियो।

यसै वर्षको फेब्रुअरीमा लेस्टर सिटीलाई ३–० ले पराजित गर्दा पनि उनको एक गोलको योगदान गरेका थिए। जुन गोल जारी इंग्लिस प्रिमियर लिगमा उनको १५औं गोल समेत बन्यो। उक्त गोलपछि इंग्लिस प्रिमियर लिगको एकै सिजनमा १५ गोल गर्ने उनी सबैभन्दा जेठो खेलाडीसमेत बने। उक्त गोल गर्दा उनको उमेर ३५ वर्ष र १ सय २५ दिन थियो।

गत फेब्रुअरीमा नै उनले युनाइटेडको तर्फबाट पहिलो ह्याट्रिक गर्न सफल भए। युरोपा लिगअन्तर्गत अन्तिम ३२ को खेलमा सेन्ट एटिन्नेविरुद्ध ३–० को जित निकाल्दा युनाइटेडका तर्फबाट पहिलो ह्याट्रिक पूरा गरे। यस्तै फेब्रुअरीमा नै भएको एफए कपको पाँचौं चरणको खेलमा उनले ब्ल्याकबर्न रोभर्सविरुद्ध विजयी गोल गरेका थिए। उक्त म्याचमा युनाइटेडका तर्फबाट एफए कपमा पहिलो खेल खेल्दै गरेका उनी खेलको ६२औं मिनेटमा मात्र मैदान प्रवेश गरेका थिए। त्यसको दुई साता पनि नबित्दै उनकै निर्णायक गोलको मद्दतमा युनाइटेड यस सिजनको इएफएल कप च्याम्पियन बनेको छ। यो उपाधि इब्राहिमोभिचका लागि म्यानचेस्टर युनाइटेडका तर्फबाट सिजनकै पहिलो प्रमुख उपाधिसमेत हो।

जारी सिजनमा इब्राहिमोभिचले युनाइटेडका तर्फबाट ३८ खेल खेलिसकेका छन्। जुन संख्या यस सिजनमा अन्य प्रिमियर लिग खेलाडीमध्ये सर्वाधिक हो। उनी एउटै सिजनमा प्रिमियर लिग, एफए कप, लिग कप, युरोपा लिग र कम्युनिटी सिल्डमा म्यानचेस्टर युनाइटेडका तर्फबाट गोल गर्ने जेभियर हर्नान्डेजपछि दोस्रो खेलाडी बनेका छन्। जारी सिजन चलिरहँदा उनी युनाइटेडका तर्फबाट सर्वाधिक गोलकर्ता बनेका छन्। उनले यस सिजन सबै खाले प्रतियोगितामा गरी कूल २६ गोल गरिसकेका छन्। योसमेत लगातार दशौंपटक उनले कुनै पनि घरेलु टोलीबाट आफ्नो गोलसंख्या २० कटाएका छन्। दस वर्षअघि सन् २००६–०७ मा इन्टर मिलानमा रहँदा उनले १५ गोल गरेका थिए। प्रिमियर लिगको शुरुआती तीन खेलमा लगालग गोल गर्नेमा पनि उनी दोस्रो खेलाडी बनेका छन्। यसअघि स्टोरी मुरेले सन १९७१–७२ सिजनमा प्रिमियर लिगको शुरुआती तीन खेलमा लगालग गोल गरेका थिए। इटालियन सिरी ए, स्पेनिस ला लिगा, फ्रेन्च लिग वान र च्याम्पियन्स लिगको डेब्यु खेलमै गोल गरेका उनले गत अगस्टमा पनि प्रिमियर लिगको डेब्यु खेलमा बाउर्नमाउथविरुद्ध गोल गर्दै यो क्रमलाई निरन्तरता दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्