निःशुल्क स्वास्थ्य शिविरमा साढे आठ सयको परीक्षण



फलेवास (पर्वत), १९ फागुन । आर्थिक अभावका कारण लामो समयदेखि विभिन्न रोग लुकाएर बसेका नागरिकलाई लक्षित गरी यहाँको एक विकट गाउँमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा बिरामीको भीड बढेको छ ।

दक्षिण पर्वतको लुङ्खुदेउराली गाविसमा दाँत तथा हाइड्रोसिल र हर्नियाका विशेषज्ञ चिकित्सकको उपस्थिति रहेको शिविरमा तेस्रो दिनसम्म करिब साढे आठ सय जनाको उपचार गरिएको छ । ८२० जना दाँतका रोगीको परीक्षण तथा २३ जना हाइड्रोसिल र हर्नियाका बिरामीको शल्यक्रिया गरिएको शिविर व्यवस्थापन समितिले जनाएको छ ।

लुङ्खुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापन तथा अस्नेप फाउन्डेसन काठमाडाँैको सहयोगमा सञ्चालित शिविरमा चिकित्सक रबिन कोइरालाको नेतृत्वमा रहेको स्वदेशी तथा विदेशी चिकित्सकको टोलीले बिरामीको परीक्षण गरेका छन् । सो अवसरमा मङ्गलबार ७१ वर्षीय एक वृद्धको हाइड्रोसिलको शल्यक्रिया गरिएको थियो ।

शिविरमा पर्वतको लुङ्खुदेउराली, पाखापानी, कुर्घा, बालाकोट, हुवास, भोर्ले, सरौखोलालगायत एक दर्जन र छिमेकी जिल्ला स्याङ्जा, बागलुङ र गुल्मीबाट समेत बिरामी परीक्षणका लागि आएको शिविर व्यवस्थापन समितिका संयोजक जीवन ठकुरीले जानकारी दिनुभयो ।

यही फागुन २० गतेसम्म सञ्चालन हुने शिविरबाट करिब दुई हजारभन्दा बढी लाभान्वित हुने बताइएको छ । निःशुल्क उपचार तथा औषधिसमेत निःशुल्क रुपमा पाइने भएपछि विपन्न समुदायका बिरामी बढी लाभान्वित बनेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्