सुनकुमारीका श्रीमान्ले सफाइ पाए, बहिनीलाई १० वर्ष कैद



लिबाङ (रोल्पा), १८ फागुन । श्रीमान् र बहिनीको कुटपिटबाट हत्या गरिएको भनिएकी थबाङ, रोल्पाकी सुनकुमारी नेपालीका श्रीमान्ले अदालतबाट सफाइ पाएका छन् भने सुनकुमारीकी (सानीआमाकी छोरी) बहिनीलाई जिल्ला अदालत रोल्पाले १० वर्षका लागि कैद हुने गरी फैसला गरेको छ ।

विसं २०७३ असोज २५ गते विजयादशमीको टीकाको दिनमा सुनकुमारीको घरमा भोजभतेर भइरहेको बेला रातको करिब १२ बजे सुनकुमारी र जालकुमारीका बीचमा सामान्य विवाद परेपछि जालकुमारीले सुनकुमारीलाई लछारपछार गरेर पटकपटक मसला पिस्ने सिलौटोमा सुनकुमारीको टाउको बजारेर कुटपिट गरेको र सोही चोटबाट सुनकुमारीको मृत्यु भएको पुष्टि भएपछि जालकुमारी नेपालीलाई १० वर्ष कैद हुनेगरी फागुन ३ गते फैसला भएको जिल्ला अदालत रोल्पाका न्यायाधीश कमलप्रसाद ज्ञवालीले राससलाई मंगलबार जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतक सुनकुमारीको हत्यामा संलग्न रहेको भनिएका अर्का प्रतिवादी (सुनकुमारीका श्रीमान्) ध्रुव नेपालीले मृतक सुनकुमारीलाई कुटपिट गरेको पुष्टि नभएको हुँदा ध्रुव नेपालीले सफाइ पाएका हुन् ।

जिल्ला न्यायाधीश ज्ञवालीका अनुसार नियतवश कसैको ज्यान लिएमा जन्मकैद हुने व्यवस्था भए पनि जालकुमारी नेपालीले आवेशमा आएर घटना घटाएको हुँदा १० वर्ष कैद सजाय तोकिएको हो । मृतकका श्रीमान् ध्रुव नेपाली र बहिनी जालकुमारी नेपालीले सुनकुमारी नेपालीलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरी घाइते बनाई उपचारका क्रममा सुनकुमारीको मृत्यु भएको अभियोगमा दोषीउपर कारबाहीका लागि जिल्ला अदालत रोल्पामा मुद्दा दर्ता भएको थियो ।

घटना घटेको करिब एक महिनापछि कात्तिक २७ गते भैरहवाको शिक्षण अस्पतालमा उपचारका क्रममा सुनकुमारीको मृत्यु भएपछि पीडक जालकुमारी नेपाली र धु्रव नेपालीलाई कारागार कार्यालय रोल्पामा थप अनुसन्धानका लागि थुनामा राखिएको थियो ।

अदालतको फैसलाअनुसार जालकुमारी नेपालीले फागुन ३ गतेदेखि १० वर्ष कैद सजाय भोग्नेछिन् । काक्री, रुकुम माइत भएकी जालकुमारीका श्रीमान् घटना घट्ने समयमा रोजगारीका लागि साउदी अरबमा हुनुहुन्थ्यो भने जालकुमारी भने करिब ६ महिनादेखि ७ वर्ष, ४ वर्ष र ३ वर्षका छोराछोरीलाई पढाउने बहानामा थबाङमा डेरा लिएर बस्दै आएकी थिइन् । रासस

प्रतिक्रिया दिनुहोस्