आविष्कार केन्द्रलाई रु पाँच लाख सहयोग



बाबियाचौर (म्याग्दी), १७ फागुन । हिस्तान र राम्चेमा रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले राष्ट्रिय आविष्कार केन्द्रलाई करिब रु पाँच लाख सहयोग गरेका छन् ।

म्यागेसेसे पुरस्कार विजेता महावीर पुनको अगुवाइमा स्थापना हुन लागेको र केन्द्रलाई रु चार लाख ९८ हजार १०८ उपलब्ध गराइएको हो । आदर्श मावि रिमा स्रोत केन्द्रका स्रोत व्यक्ति भरतकुमार पुनले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई रकम हस्तान्तरण गर्नुभएको हो ।

राम्चेको नांगीमा जन्मिएर सोही क्षेत्रका ग्रामीण बस्तीमा बेतार इन्टरनेटको माध्यमबाट शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनको विकासमा सघाउनुभएका महावीरको प्रयासमा स्थापना हुन लागेको केन्द्रलाई शिक्षक, कर्मचारी र अगुवाले स्वेच्छिक रुपमा सहयोग जुटाएका हुन् ।

विज्ञान, प्रविधि, स्वास्थ्य, कृषि, वन तथा वातावरणलगायत विषयमा अध्ययन गरी देश विकासमा सघाउने उद्देश्यले केन्द्र स्थापनाका लागि पुनको नेतृत्वमा जनस्तरबाट आर्थिक सहयोग जुटाउने क्रम चलिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्