छ वर्षपछि बसपार्क सञ्चालनमा



सोलुखुम्बु, १७ फागुन । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सडक यातायात सेवा सुरु भएको छ वर्षपछि बसपार्क सञ्चालनमा ल्याइएको छ ।

विसं २०६७ मा जिल्ला सदरमुकामसम्म सडक यातायातले जोडिएकोमा सोमबार पहिलो पल्ट बसपार्क सञ्चालनमा ल्याइएको हो ।

दूधकुण्ड नगरपालिका–५ सोलुखुम्बुमा जिल्ला विकास समितिले निर्माण सुरु गरेर करिब तीन वर्षदेखि अलपत्र अवस्थामा रहेको बसपार्कलाई यातायात व्यवसायीले मर्मत गरी सञ्चालनमा ल्याएका हुन् । आफूहरुले करिब रु दुई लाख ५० हजार लगानीमा बसपार्क सम्याउने तथा अस्थायी काउन्टर निर्माण गरी सोमबारदेखि सुचारु गरिएको संयुक्त यातायात व्यवसायी सङ्घ सोलुुखुम्बुका अध्यक्ष केवल रानामगरले बताउनुभयो ।

यस्तै, बसपार्कको उद्घाटन गर्दै दूधकुण्ड नगरपालिकाका कार्यकारी अधिकृत गुणराज भटृराईले व्यवसायीको प्रयासको सह्राहना गर्दै शौचालय निर्माण, बसपार्कमा ग्राभेललगायतको काममा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

अब जिल्लाबाट सञ्चालन हुने सबै व्यवसायी सङ्घले टिकट बिक्री तथा बस छुट्ने तथा आउने सबै सेवा बसपार्कबाट सुरु गर्ने जनाएका छन् ।

अहिले सोलुखुम्बु सदरमुकामबाट काठमाडौँमा दैनिक करिब ३५ वटा जिप तथा दुईवटा बस, कटारीमा दैनिक पाँचभन्दा बढी जिप र जिल्लाभित्र ५० भन्दा बढी जिपले मानिसलाई यात्रा गराइरहेका छन् । बसपार्क नहुँदा ती सवारीसाधन जथाभावी पार्किङ गरिँदै आएको थियो ।

त्यस्तै, आधा दर्जनभन्दा बढी यातायात व्यवसायी सङ्घले विभिन्न होटल अगाडि काउन्टर राखेर त्यहाँबाट यात्रु चढाउने र ओराल्ने गर्दा आवातजावतमा समस्या हुँदै आएको थियो ।

बसपार्क सञ्चालनसँगै जथाभावी पार्किङका कारण उत्पन्न हुने ट्राफिक समस्या समाधान हुने जिल्ला ट्राफिक कार्यालय सोलुखुम्बुका इन्चार्ज भेषबहादुर थापाले विश्वास व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्