संविधान संशोधनबिना निर्वाचन असम्भवः डा. भट्टराई



धनवीर दाहाल, रुकुम
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधनबिना निवार्चन गर्न असम्भव भएको बताउनुभएको छ। पहिला संविधान संशोधन गरेर मात्र तीनवटै तहको चुनाव गर्न सकिने बताउनुभएको छ। अहिलेको संविधानमा सबैको हित हुने व्यवस्था नभएकाले नै तत्काल संविधान संशोधन गरेर मात्र देशलाई निकास दिनुपर्ने कुरामा उहाँले जोड दिनुभएको छ।

नेपाल पत्रकार महासंघ रुकुम शाखाले आइतबार रुकुमको सदरमुकाम मुसिकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. भट्टराईले अहिलेको शासकीय स्वरुपसमेत ठीक नभएको बताउनुभयो। शासकीय स्वरुप ठीक नभएकै कारण देशको आर्थिक र राजनीतिक विकास पनि तीव्र गतिमा हुन नसक्ने डा. भट्टराईले ठोकुवा गर्नुभयो। उहाँले नयाँ शक्ति नेपालले अघि सारेको आर्थिक क्रान्तिको एजन्डामार्फत अब देशको आर्थिक समृद्धिलाई पूरा गर्न राज्यका सबै शक्ति मिलेर देशमा औद्योगिक क्रान्तिसमेत गर्नुपर्ने बताउनुभयो। यस्तै संविधान संशोधनमार्फत अब प्रत्यक्ष कार्यकारी राष्ट्रपतिका लागि निर्वाचन प्रक्रियामा जानुपर्ने उहाँको भनाइ थियो। साथै नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमबीचको एकता सन्र्दभमा भने गम्भिर छलफल भइरहेको उहाँले बताउनुभयो।

डाक्टर भटराईले यो सरकारको आयु चैत्र मशान्तसम्म मात्र भएको भए पनि निवार्चन गराउनुस् भन्दै शेरबहादुर देउवाले वैशाखसम्मको म्याद थपिदिएको धारणा राख्नुभयो। एउटा तहको निर्वाचनले समस्या हल नहुने भन्दै उहाँले आउँदो माघ ७ भित्र ३ वटै निवार्चन नभए देश गम्भिर संकटमा फस्ने दाबी गर्नुभयो। पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका डाक्टर भटराईले तोकिएकै समयमा निर्वाचन हुनुपर्छ भन्ने कुरा नयाँ शक्ति पार्टी दृढ रहेको तर असन्तुष्ट पक्षको माग सम्बोधन गर्नुपर्छ अनि मात्र निर्वाचन गर्नुपर्छ भन्ने आफ्नो माग रहेको उहाँको भनाइ छ। मधेसी मोर्चाको माग जायज भएकाले उनीहरूका माग यथाशीघ्र सम्बोधन गरी निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो। नयाँ शक्ति पार्टी रुकुमको आयोजना बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न उहाँ रुकुम आउनुभएको हो। सो अन्तरक्रिया कार्यक्रममा समेत उहाँले असन्तुष्टको माग सम्बोधन गरी चुनावी माहोल बनाउन आग्रह गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्