सुर्खेतबाट बालविवाहमुक्त अभियान शुरू



प्रकाश पन्त, वीरेन्द्रनगर
विश्वकै प्रभावशाली कोच नरबहादुर कार्कीले सुर्खेतबाट बालविवाहमुक्त अभियान थाल्नुभएको छ। नेपालमा पूर्ण खोप र बर्थिङ सेन्टर स्थापना अभियानका अभियन्ता उहाँले अब नेपाललाई बालविवाहमुक्त गर्नका लागि सुर्खेतबाट अभियान थाल्नुभएको हो।

संसारभरिका मानिसहरूलाई जीवन कसरी जिउने भन्ने विषयमा प्रशिक्षण दिँदै आउनुभएका उहाँले फागुन १५ र १६ गते वीरेन्द्रनगरमा १ हजार २ सय जनालाई प्रशिक्षण दिने हुनुभएको छ।

कार्यक्रमका लागि कार्की र उहाँको समूह सुर्खेतको वीरेन्द्रनगर आइपुगेको छ। सुर्खेतबाट शुरू हुन लागेको यो अभियानलाई कार्कीले नेपाललाई सन् २०२० भित्र बालविवाहरहित देश बनाउने महाअभियानको संज्ञा दिनुभएको छ।
यो अभियानलाई जोडिन उहाँले राजनीतिक दलका नेता, राष्ट्रसेवक कर्मचारीलगायत समाजका अगुवालाई आग्रह गर्नुभएको छ। महिला तथा बालबालिका कार्यालय सुर्खेतले आयोजना गरेको कार्यक्रममा सुर्खेतका सबै गाविस र नगरपालिकाबाट सहभागी हुने सालकोट गाविसका सचिव तिलकराम अधिकारीले बताउनुभयो।

कार्यक्रममा राजनीतिक दल, सरकारी तथा गैरसरकारी संघसंस्था, नागरिक अगुवा, गाविस सचिव, गाउँ⁄नगर बालसञ्जालका प्रतिनिधि, प्रहरी, बाल क्लवमा आबद्धहरूको सहभागिता हुने बताएको छ। अनावश्यक पीडा लिएर किन बाँच्ने, यसका विकल्पहरू छन, जीवनको ढाँचा बदल्न सकिन्छ र जीवनका कथाहरू पुर्नलेखन गर्न सकिन्छ भन्ने मान्यता कार्की राख्नुहुन्छ।

उहाँले जिन्दगीलाई कसरी स्वतन्त्रता बनाउने र शक्ति र उमंग थप्ने विषयमा प्रशिक्षण दिँदै आउनुभएको छ। विश्वकै प्रभावशाली कोच कार्की अहिले अफगानिस्तानमा प्रशिक्षण दिँदै हुनुहुन्छ। पूर्ण खोप अभियानका अभियन्ता कार्कीकै पहलमा सरकारले ५ वर्षअघि अछामको भागेश्वर गाविसबाट पूर्ण खोप अभियानको शुरुआत गरेको थियो। उहाँकै सक्रियता र पहलमा नेपालमा बर्थिङ सेन्टरको शुभारम्भ पनि भएको थियो।

ग्रामीण भेगमा महिलाहरू घर, गोठ खेतमा सुत्केरी हुने गरे पनि उहाँले बर्थिङ सेन्टरको स्थापना गर्नुपर्ने अभियान थाल्नुभएको थियो। अभियानकै कारण पछिल्लो समय बर्थिङ सेन्टरमा सुत्केरी हुन आउनेहरूको संख्या बढेको र मातृमृत्यु दर पनि घटेको छ। शुरूमा नवलपरासीबाट शुरू भएको बर्थिङ सेन्टर अभियान अहिले नेपालभरिमै सञ्चालनमा भएको छ।

प्रतिक्रिया दिनुहोस्