गरिब पिताका धनी खेलाडी छोरा



कविरस शर्मा
एक जना कविले भनेका थिए, ‘कसले भन्छ आकाशलाई छेड्न सकिन्न, एउटा पत्थर त सही प्रहार गर साथी।’ यो अभिव्यक्ति प्रेरणादायी छ। वास्तवमा प्रेरणाले भरिपूर्ण घटनाबाट सधैं आनन्दको अनुभूति प्राप्त हुन्छ। अझ गरिबीदेखि सम्पन्नतासम्मको जीवनी बोकेको कथाले त हरेक व्यक्तिमा उर्जाको काम गर्छ। अचेल यस्ता घटनाहरुको स्थान पनि विशिष्ट नै हुने गरेको छ। हामीले दैनिक गुजाराका लागि अभिभावकहरुले कष्टपूर्ण काम गरेर आफ्नो सन्तानलाई हुर्काएको कथाहरु सुनेका र पढेका छौं। जसमध्ये खेल क्षेत्रमा पनि कतिपय खेलाडीहरुको सफलताको पछाडि गरिब तर मेहनती अभिभावकको सम्बन्ध प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गाँसिएका पाउँछौ। यसको एउटा राम्रो उदाहरण अहिले इन्डियन प्रिमियर लिगमा देखिएको छ। प्रेरणादायी घटनाहरुमध्येमा अहिले नयाँ भारतीय क्रिकेटरहरुको नाम थपिएको छ। सफलताको उचाइमा पुग्न कसैलाई पनि सहज हुँदैन। तर कडा मिहिनेती र धैर्यवान बनेमा यो असम्भव पनि हुँदैन। यस्तै सफलताको नयाँ उदाहरणका रूपमा अहिले आफ्नो उत्कृष्ट बलिंगमार्फत आकाशलाई छेड्न सफल नाम हो क्रिकेटरद्वय थांगरासू नटराजन र मोहमद सिराज।

थंगारासू नटराजन
आईपीएलको दशौं संस्करणको लिलामी गत सोमबार चलेको थियो। अर्बभन्दा बढी जनसंख्या रहेको भारतमा एक अनजान भारतीय खेलाडी थंगारासू नटराजनलाई किंग्स इलेभेन पञ्जाबले ३ करोड भारुमा खरिद गरेपछि सबैजना आश्चर्यचकित भए। योसँगै उनी यसपटक दोस्रो सर्वाधिक महंगो अनुबन्धन गरिएका भारतीय खेलाडी बनेका छन्। पञ्जाबका तर्फबाट वीरेन्द्र सहवागले २५ वर्षीय थंगारासूलाई आधार मूल्यभन्दा ३० गुणा अधिक रकम खर्चेर टिममा अनुबन्ध गरेका हुन्। चर्को रकममा अनुबन्धित भएका यी खेलाडीको वास्तविक जीवन अभावमा बितेका छन्। बायाँ हाते तीव्र गतिका बलरका पिता थंगारासूका पिता रेलवे स्टेसनमा कुल्लीको काम गर्छन् भने आमा सडक छेउको पसले हुन्।

पाँच सन्तानमध्येका एक थंगारासूले टेनिस बलबाट क्रिकेट खेल्न शुरू गरेका हुन्। त्यसपछि उनी चेन्नईमा पुगेर जोली रोभर्स क्लबमा आबद्ध भए। यसअघि उक्त क्लबबाट रविचन्दन अश्विन र मुरली विजयजस्ता खेलाडीले पनि खेलिसकेका छन्। उनी सोही क्लबबाट खेल्दै तामिलनाडु टिममा समेत छनोट हुन सफल भए। सन् २०१५–१६ को रणजी ट्रफीमा उनले तामिलनाडु टिमको प्रतिनिधित्व गर्दै प्रथम श्रेणीको ९ म्याच खेल्दै २७ विकेट लिन सफल भए। त्यसपछि भने उनको माग एकाएक चुलियो। आईपीएल लिलामीका यति ठूलो धनराशीमा अनुबन्ध भए पश्चात थंगारासूले सपनामा पनि नसोचेको कुरा पूरा भएको बताएका थिए।
मोहमद सिराज
इन्डियन प्रिमियर लिगमा अहिले थंगारासू नटराजनजस्तै अर्को एउटा खेलाडी मोहमद सिराज पनि उदाएका छन्। हैदरावादका यी क्रिकेटरका पिता साधारण टेम्पो चालक हुन्। तर पिताको लगन र मेहनतको प्रतिफल गत सोमबार आईपीएल–१० को अनुबन्धनको दिन देखियो। सो दिन हैदरावाद सनराइजर्सले यी खेलाडीलाई २.६० करोड भारूमा टिममा भित्र्यायो।

योसँगै सिराज आईपीएल–१० को अनुबन्धनमा सर्वाधिक चौथो महंगो भारतीय खेलाडी बनेका छन्। २२ वर्षीय सिराज हैदरावाद टिमका लागि खेल्ने गर्छन्। वर्ष २०१५–१६ रणजी सिजनमार्फत उनले पहिलो श्रेणीको म्याचमा पदार्पण गरे। त्यसपश्चात सन् २०१६ को जनवरी २ मा सैयद मुस्ताक अली ट्रफी प्रतियोगितामार्फत टी–ट्वेन्टी क्रिकेटमा खेल्न शुरूआत गरे। अहिले महंगो रकम अनुबन्धनसँगै उनले आईपीएलमा पहिलोपटक खेल्ने अवसरसमेत जुराए।

सिराज दायाँ हाते तेज बलर हुन्। उनले अहिलेसम्म आफ्नो करियरमा ११ वटा पहिलो श्रेणीको म्याचहरु खेलेका छन्। जसमा उनले ४४ विकेट लिएका छन्। ५२ रन खर्चेर ५ विकेट लिनु उनको पहिलो श्रेणी म्याचमा सर्वश्रेष्ठ प्रदर्शन हो। योबाहेक उनले १० वटा टी (२० क्रिकेट म्याचमा १६ विकेट लिएका छन। जसमा २४ रन खर्चेर ४ विकेट लिनु उनको सबैभन्दा उत्कृष्ट प्रदर्शन रहेको छ। सिराजले यसै वर्ष सम्पन्न रणजी ट्रफीमा शानदार प्रदर्शन गरेका थिए। उक्त प्रदर्शनकै आधारमा उनले सबैको ध्यान तान्न सफल भएका हुन्।

प्रतिक्रिया दिनुहोस्