बन्दले जनजीवन प्रभावित



नेपाल समाचारपत्र
राजविराज
मधेसी मोर्चाको बन्दका कारण बुधबार सप्तरीको जनजीवन प्रभावित भएको छ। यातायात, विद्यालयदेखि सरकारी कार्यालयसमेत पूर्णरूपमा बन्द भएका छन्।

विहान १० बजेदेखि नै मोर्चाका कार्यकर्ताले कार्यालय बन्द गराउँदै हिँडेका थिए। बन्द गराउनका लागि हिँडेका मोर्चाका कार्यकर्ताले मधेसको माग पूरा नगरी हुने स्थानीय निकायको निर्वाचन आफूहरूका लागि मान्य नहुने भन्दै नाराबाजी पनि गरेका छन्।

बन्द गराउन नगरका चौकचौकमा मोर्चाका कार्यकर्ता तैनाथ रहेका छन्। बुधबारको बन्दमा सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साह, सूर्यनाथ यादवलगायतका केन्द्रीय नेतासमेत सहभागी छन्।

बन्दले सदरमुकामलगायत भारदह, कञ्चनपुर, बरसाइन, कल्याणपुर, कदमाहा, हनुमाननगर, कुशाहा, रूपनी, कडोरवोना, वीरेन्द्र बजार, झौराहा चौक, सीतापुर, तोपा, वभनगामा कट्टी, महुलीसमेत प्रभावित भएको स्थानीयले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्