संशोधनमा सहमति जुटेन



नेपाल समाचारपत्र
काठमाडौं
स्थानीय तहको चुनाव मिति घोषणापछि समर्थन जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले डाकेको सर्वदलीय बैठकमा चुनावलाई स्वागत गरिए पनि संविधान संशोधनका विषयमा भने सहमति जुट्न सकेन।

संशोधनका विषयमा दलहरूले मिश्रित प्रतिक्रिया दिए भने प्रमुख प्रतिपक्षीले संशोधनको विरोध गर्यो। तर सत्ता पक्षका नेताहरूले संशोधनलाई प्रक्रियामा लग्न दिने संकेत प्रमुख प्रतिपक्षीले दिएको दाबी गरेका छन्।

सोमबार सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेपछि समर्थन जुटाउन तथा दलहरूको प्रतिक्रिया लिन प्रधानमन्त्रीले मंगलबार सर्वदलीय बैठक संसद् भवन नयाँ बानेश्वरमा बोलाउनुभएको थियो। सर्वदलीय बैठकमा संसद्मा रहेका सम्पूर्ण दलहरू सहभागी भए पनि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्ध दलहरूले भने बैठक बहिष्कार गरे।

सर्वदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डले मुख्य तीन विषय प्रस्तुत गरी दलहरूको धारणा माग्नुभएको थियो। प्रधानमन्त्रीले निर्वाचनको मिति, संविधान संशोधन र स्थानीय निकाय पुनर्संरचना आयोग प्रतिवेदनबारे दलहरूको धारणा माग्नुभएको थियो।

बैठकमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी एमालेलाई संशोधनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो तर एमालेले अस्वीकार गरेको छ। अन्य दलहरूले निर्वाचनलाई स्वागत गरे तर संशोधनका विषयमा मिश्रित प्रतिक्रिया दिएका थिए।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले संशोधन विधेयक अघि बढ्ने बताउँदै भन्नुभयो– ‘प्रक्रिया भोलि नै अगाडि बढ्छ भन्ने मलाई लागेको छ। प्रक्रिया अघि बढ्छ।

निर्वाचनमा जाने कुरामा आमसहमति बनेको बताउँदै उहाँले मधेसी मोर्चाको समस्या समाधान गर्नुपर्छ भन्नेमा मूलभूतरूपमा सबै दलबीच सहमति भए पनि संविधान संशोधन विधेयक पारित गरेर जाने विषयमा भने सबै दलबीच सहमति हुन नसकेको बताउनुभयो।

बैठकपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भन्नुभयो– ‘संशोधन प्रस्तावमा पनि धेरै पार्टीको सहमति छ। मलाई विश्वास छ मतदान हुने बेलासम्म एमालेले पनि संशोधनकै पक्षमा भोट हाल्नेछ। देउवाले सबैसँग सकारात्मक संवाद भएको बताउँदै मधेसी मोर्चासँग फेरि संवाद गर्ने जानकारी गराउनुभयो।
बैठकपछि राप्रपाका अध्यक्ष कमल थापाले संविधान संशोधनका विषयमा मधेस केन्द्रित दललाई चित्त नबुझाई विधेयकलाई यथास्थितिमा अघि बढाउँदा उपयुक्त नहुने बताउनुभयो। उहाँले भन्नुभयो– ‘संशोधनका विषयमा सहमति जुटाउनुपर्छ। प्रतिवेदन यथासक्य चाँडो कार्यान्वयन गर्नुपर्छ भन्ने धारणा हाम्रो रह्यो।

यता सत्तारूढ दलहरूले भने बुधबार संविधान संशोधनलाई प्रक्रियामा लग्ने तयारी गरेका छन्। कानुनमन्त्री अजय शंकर नायकले नेपाल समाचारपत्रसँग कुराकानी गर्दै सरकारले बुधबार संसद्मा संशोधन प्रक्रिया अगाडि बढाउने तयारी गरेको बताउनुभयो। उहाँले प्रतिपक्षी दलले पनि प्रक्रियामा जाने संकेत दिएको दाबी गर्नुभयो। उता मधेसवादी दलहरूले हिजो साँझ तराईका विभिन्न भागमा मसाल जुलुस प्रदर्शन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्