सुगममै मातृ मृत्यु बढी



बाँके, (नेस)
गत वर्ष कालिकोटमा एक जना सुत्केरी आमाको मृत्यु भयो। मुगु, हुम्ला, जाजरकोट, बर्दिया र सल्यानमा २⁄२ जना आमा मरे।

जुम्ला र प्युठानमा ३⁄३ जना आमाको मृत्यु भयो। दैलेखमा ४, रोल्पामा ५ र बाँकेमा १४ जनाको मृत्यु भयो। क्षेत्रीय स्वास्थ्य निर्देशनालय, सुर्खेतका तथ्यांक अधिकृत विनोद आचार्यका अनुसार, रुकुम, दाङ र डोल्पामा सुत्केरी आमाको मृत्यु भएन।

जिल्ला अस्पतालसँगै मध्यपश्चिमका जिल्लामा ८ देखि ५५ वटासम्म बर्थिङ सेन्टर छन्। डोल्पामा सबैभन्दा कम ८ र दैलेखमा धेरै ५५ वटा बर्थिङ सेन्टर छन्। प्यूठानमा ४२, रोल्पामा ४९, सल्यानमा ३७, दाङमा ३६, बाँकेमा ३१, बर्दियामा १६, सुर्खेतमा ४७, जाजरकोटमा ३४, जुम्लामा १८, कालिकोटमा २८, मुगुमा ११ र हुम्लामा २२ वटा बर्थिङ सेन्टर छन्।

सरकारले जिल्लामा ठूल्ठूला अस्पताल र गाउँगाउँमा बर्थिङ सेन्टर बनाए पनि मातृ मृत्युदर भने मध्यपश्चिममा धेरै नै रहेको छ। गत वर्ष ४७ जना सुत्केरी आमाको मृत्यु भएको छ। क्षेत्रीय स्वास्थ्य निर्देशनालयले तथ्यांकीय लापरबाहीले गर्दा जिल्लागत रिपोर्टिङ अस्तव्यस्त रहेको छ। चालू आर्थिक वर्ष आठ महिना चलिरहँदा क्षेत्रसँग पछिल्लो तथ्यांक नै छैन।

बाँकेमा चालू आर्थिक वर्षमा १२ जना सुत्केरीको मृत्यु भइसकेको छ। सुगम जिल्ला भए पनि क्षेत्रमै सबैभन्दा धेरै मातृ मृत्युदर रहेपछि बाँकेमा अहिले आमा सुरक्षा कार्यक्रम चलिरहेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका प्रमुख खिमबहादुर खड्काले आमा सुरक्षा कार्यक्रम सञ्चालन भएपछि मृत्यु भएको खबर नआएको बताउनुभयो। ‘मासिक दुई जनाको दरले मृत्यु भएको थियो, आमा बचाउ अभियानअन्तर्गत घरघरमा स्वास्थ्यकर्मी खटाएपछि मृत्यु भएको खबर आएको छैन’ –खड्काले भन्नुभयो।

क्षेत्रभरिमा ४ सय ६० वटा बर्थिङ सेन्टर छन्। जिल्ला अस्पताल पनि छन्। नियमित गर्भ जाँचदेखि बच्चा जन्माउन स्वास्थ्य संस्थामा नजाने प्रवृत्तिले गर्दा आमा र बच्चाको मृत्यु रोकिन सकेको छैन। दुर्गमभन्दा सुगम जिल्लामै मातृ–शिशु मृत्युदर बढी देखिएको छ। बाँके, सुर्खेत, रोल्पा, दैलेख यस क्षेत्रमा अगाडि छन्। दुर्गम जिल्लाको रिपोर्टिङ कमजोर भएकाले बाहिर नआएको हुन सक्ने सम्भावना पनि एकातिर रहेको छ। बालविवाह, वर्षेनी बच्चा जन्माउने, पोषण र सरसफाइ अभाव, नियमित स्वास्थ्य जाँचको कमीले गर्दा यस क्षेत्रमा मातृ–शिशु मृत्युदर अधिक रहेको छ। सरकारले गाउँगाउँमा बर्थिङ सेन्टर बनाए पनि सुत्केरी हुने क्रममा अन्तिममा त्यहाँ पुर्याउने गरेको पाइन्छ। स्वास्थ्य संस्थामै बच्चा जन्माए मात्रै गाविसले जन्मदर्ता गराउनेजस्ता कतिपय गाविस गाविसले जारी गरेको उर्दीलाई सबै ठाउँमा पुर्याउनुपर्ने आवाज उठ्न थालेका छन्।

यो क्षेत्रमा आमासँगै नवजात शिशु मृत्युदर पनि अधिक रहेको छ। क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार गत वर्ष २ सय ९९ शिशु जिउँदो जन्मेर मरेका छन् भने १ हजार १ सय २२ जना मृत जन्मेका छन्। भौगोलिक विकटताले गर्दा कामको चाप, पोषण, जाँच, औषधि सेवनलगायतले गर्दा मृत बच्चा जन्मिने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्