आन्दोलनकारी पक्रेर निजी घरमा डोजर



Photo: Bhaswor ojha/ Nagarik/Republica

रोशन पराजुली, हेटौंडा
भिजन सडक कार्यालयले शुरू गरेको सडक फराकिलो पार्ने कामलाई निरन्तरता दिएको छ। व्यवसायीले मकवानपुर बन्द आह्वान गरे पनि व्यापक प्रहरी परिचालन गरी बुद्धचोकमा रहेका निजी घर भत्काउने काम जारी छ।

२५ मिटर सडक फराकिलो पार्ने कामले तीव्रता पाएको हो। मुआब्जा र क्षतिपूर्ति दिनुपर्ने माग राख्दै हेटौंडाका व्यवसायीले सडक विस्तारमा अवरोध गर्ने प्रयास गरिरहे पनि व्यापक प्रहरी परिचालन गरी डोजर चलाइएको हो।व्यवसायीको आह्वानमा गरिएको बन्दका क्रममा बजार क्षेत्रका पसल ठप्प पारिएको थियो भने यातायात, कलकारखाना र सरकारी शैक्षिक संस्था सञ्चालनमा रहे।

बन्द आह्वान गर्दै विरोधमा उत्रिएका मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष तथा हेटौंडा बसोबास संरक्षण समिति संयोजक राजकुमार न्यौपानेलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको थियो। न्यौपानेसँगै व्यवसायी धर्मकृष्ण श्रेष्ठलाई पनि पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रवक्ता वामदेव गौतमले जानकारी दिए।
यसअघि हेटौंडाका सरकारी कार्यालय र चाइनाक्वार्टरका निजी घरसमेत भत्काइसकिएको छ। डिभिजन सडकले माघ ४ गतेदेखि २५ मिटर फराकिलो पार्ने अभियान शुरू गरेको थियो। व्यवसायीको अवरोधका कारण केही समय सडक विस्तार रोकिए पनि आइतबारबाट तीव्रता पाएको छ। केही समयअघि मुआब्जा र क्षतिपूर्ति माग राख्दै व्यवसायीले सर्वोच्चमा मुद्दा दायर गरेका थिए। सर्वोच्चले तत्काल नभत्काउन अन्तरिम आदेश दिएका बाहेक घरहरू भत्काउन थालिएको डिभिजन सडक कार्यालय हेटौंडाका प्रमुख आशुतोष कर्णले जानकारी दिए।

केही समयदेखि रोकिएको सडक विस्तार काम आइतबार शुरू भएको थियो। सोही क्रममा आइतबार विहान प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा बर्साएका थिए भने प्रहरीले पनि प्रदर्शनकारीमाथि बल प्रयोग गरेको थियो। कार्यालयले कामले तीव्रता पाउने बताइरहँदा आन्दोलनरत पक्षले भने सोमबार बन्द आह्वान गरेको हो।
सडक डिभिजन कार्यालयका प्रवक्ता जयराम अधिकारीले कामले तीव्रता पाउने बताए। उनले हेटौंडाको सडक विस्तारले मुलुकभर एउटा पाठ सिकाएको भन्दै कानुनभन्दा बाहिर गएर कुनै पनि काम नभएको दाबी गरे। उनले पहिले नै मुआब्जाका विषय टुंगिसकेकाहरूलाई दोहोरो मुआब्जा दिन नसकिने स्पष्ट पारे।
बुद्धचोकमा रहेको ट्राफिक प्रहरीको भवन भत्काउने काम जारी रहँदा हेटौंडाका व्यापारी र घरधनी भने आन्दोलनमा उत्रिएका थिए। निजी घरहरू नभत्काउने भनिएपछि आन्दोलनकारी घर गएको मौकामा सडक कार्यालयले राप्तिरोडका निजी दुईवटा घरका टप भत्काइएको थियो। फागुन १२ गते सर्वोच्च अदालतले गर्ने फैसलापछि सबै घर पूर्णरूपमा भत्काइने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए।

डिभिजन सडकले घर खाली गर्न सूचना दिएकाले धेरै निजी घरटहरा खाली भइसकेको जनाइएको छ। आइतबार बिहान हेटौंडाको बुद्धचोकमा रहेको ट्राफिक भवन भत्काइएको थियो। संरचना भत्काउने खबर पाएसँगै मेनरोड र राप्तिरोडका पसल बन्द भएका छन्। बजारमा प्रहरी र सर्वसाधारणको बाक्लो उपस्थिति छ। झडप हुने त्रास सर्वसाधारणमा छ।

जिल्ला प्रहरी र अस्पतालनजिकका संरचना भत्काएपछि सडकले छाडेको थियो। तर, आइतबार जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको भवनसँगै निजी संरचना भत्काइएको डिभिजन सडक कार्यालय मकवानपुरका सूचना अधिकारी जयराम अधिकारीले बताए। व्यक्तिका घरहरू भत्काउने काम निरन्तर सञ्चालन हुने उनले बताए।

राप्तिरोडमा घर भत्काउने काम थाँती रहँदा सामान लिएर गएका व्यवसायी फेरि फर्केर व्यवसायमा लागेका थिए। तर, घर भत्काउने काम शुरू हुँदा ती व्यवसायी भने अन्योलमा छन्।

प्रतिक्रिया दिनुहोस्