मधेसी आगो, एमाले दंग



मधुसूदन रायमाझी
बीपी साह, काठमाडौं
संविधान संशोधन नगरी निर्वाचनको मिति घोषणा गरेको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनको घोषणा गरेको छ। मधेसी मोर्चाको सहमतिविना निर्वाचनको मिति घोषणा गरिएको भन्दै मोर्चाले नेपाल बन्ददेखि भण्डाफोरजस्ता विरोधका कार्यक्रम सार्वजनिक गरेको छ।

सोमबार राति सरकारले निर्वाचनको मिति घोषणा गरेपछि मधेसी मोर्चाले पनि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। मोर्चाको आन्दोलनका कार्यक्रमअनुसार मंगलबार (आज) साँझ मधेसका जिल्लाहरूमा मसाल जुलुस प्रदर्शन गर्ने र बुधबार मधेस बन्दको आह्वान गरिएको छ। त्यस्तै, बिहीबारदेखि १५ दिनसम्म भण्डाफोर कार्यक्रम गर्ने मोर्चाले घोषणा गरेको छ।

सोमबार दिउँसोदेखि मधेसी मोर्चाको बैठक बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको थियो। मोर्चाले विज्ञप्ति साँझ नै तयार गरे पनि सरकारले निर्वाचनको मिति घोषणा गरेपछि सार्वजनिक गरेको हो।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोका अनुसार स्थानीय निकायको निर्वाचनको मिति घोषणाबाट स्ववियु निर्वाचनसहित अन्य कार्यक्रमहरू पनि प्रभावित हुनेछन्। संविधान संशोधन नगरी हुने कुनै पनि निर्वाचनमा मोर्चा सहभागी नहुने महतोले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

यता नेपाल सद्भावना पार्टीका महासचिव सुनिल रोहितका अनुसार मोर्चाले अहिले समान्य कार्यक्रम सार्वजनिक गरे पनि थप कार्यक्रमहरू छलफल गरी सार्वजनिक गर्नेछ। सरकारलाई दिइएको समर्थन फिर्ता लिने विषयमा छलफल जारी रहेको रोहितले नेपाल समाचारपत्रलाई बताउनुभयो। सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको प्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्वागत गरेको छ। संविधान कार्यान्वयन गर्न सरकारले घोषणा गरेको निर्वाचनको मिति स्वागतयोग्य भएको बताएको छ।
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले लामो समयदेखि जनताको चाहना र भावनालाई सम्मान गर्दै सरकारले निर्वाचनको मिति घोषणा गर्नु स्वागतयोग्य काम भएको बताउनुभयो। उहाँले नेपाल समाचारत्रपत्रसँग कुरा गर्दै भन्नुभयो– ‘संविधानको कार्यान्वयन गर्न निर्वाचनको विकल्प थिएन, जनता र राजनीतिक दलहरूको चाहना निर्वाचन थियो, अब मुलुक चुनावमय हुन्छ।’

तोकिएकै मितिमा एक साथ निर्वाचन सम्पन्न गराउन सरकारले शान्ति सुरक्षा प्रदान गर्नुपर्ने बताउँदै उहाँले निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्थापनको काममा आवश्यक पर्ने सहयोग गर्नुपर्नेमा जोड दिनुभयो। ‘अब सबैको ध्यान निर्वाचनमा जान्छ, हाम्रो पार्टी निर्वाचनको वातावरण बनाउनका लागि पर्छ, जनताको चाहनाअनुसार निर्वाचन सफल बनाउनुपर्छ।’ –उहाँले भन्नुभयो।

मधेसी मोर्चाको माग सम्बोधन गर्न एमालेले कस्तो भूमिका खेल्छ भन्ने जिज्ञाशामा वरिष्ठ नेता खनालले मधेसी मोर्चाले पनि जनमतको सम्मान गर्दै निर्वाचनको प्रक्रियामा आउने विश्वास व्यक्त गर्नुभयो। ‘मधेसी मोर्चाले पनि संविधान मानेर लोकतान्त्रिक विधि र प्रक्रियामार्फत् प्रतिस्पर्धामा जानुपर्छ, जनताको जनमत बुझ्न डराउनुहुँदैन।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको मिति घोषणा गरेपछि मधेसी मोर्चाको माग सम्बोधन गर्न संसद्मा पेस भएको संविधान संशोधन विधेयकमा सहयोग गर्ने विश्वास लिनुभएको छ। तर वरिष्ठ नेता खनालले संविधान संशोधन विधेयकबेमौसमको बाजा भएको प्रतिक्रिया दिनुभयो। ‘विधेयक पेस गर्न नदिने एमालेले ४० दिनसम्म संसद् अवरुद्ध गरेको हो’, उहाँले भन्नुभयो– ‘संसद्को बैठकमा संविधान संशोधन विधेयक प्रक्रियामा अगाडि बढाए एमालेले असफल बनाएर देखाउँछ, यो एमालेको कर्तव्य हो।’

प्रतिक्रिया दिनुहोस्