सवारी कारवाहीबाट ७ महिनामा ९२ लाख बढी राजस्व संकलन



सीताराम चौधरी, कपिलवस्तु ।
सवारी कारबाहीबाट जिल्ला ट्राफिक प्रहरी कपिलवस्तुले ७ महिनामा ९१ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
आर्थिक वर्ष २०७३।०७४ को साउनदेखि माघ मसान्तसम्म कूल १५ हजार ६सय ६३ सवारी कारबाहीबाट जिल्ला ट्राफिकले सो राजस्व संकलन गरेको हो । ट्राफिकले यसवर्ष ४हजार १सय ९२ बढी सवारी कारबाहीमा परेका छन् भने ४९ लाख ५१हजार ४सय बढी राजस्व संकलन गर्न सफल भएको जिल्ला ट्राफिक प्रहरी निरीक्षक अमर बहादुर कार्कीले जानकारी दिनुभयो ।

ट्राफिकले गतवर्षको ७ महिनामा ११ हजार ४सय ७१ सवारी कारबाहीबाट ४१ लाख ९२ हजार ६ सय रुपैयाँ राजस्व संकलन गरेको थियो । तर यसवर्ष सोही अवधिमा ४हजार १सय ९२ बढी सवारी गरेको छ भने ४९ लाख ५१ हजार ४सय रुपैयाँ बढी राजस्व संकलन गर्न सफल भएको ट्राफिक प्रहरी निरीक्षक कार्कीले बताउनुभयो । गतवर्षको दाँजोमा ट्राफिकले झण्डै तेब्बर राजस्व असुली गर्न सफल भएको कार्कीको दाबी छ ।

कारबाहीमा परेका सवारीमध्ये सबैभन्दा बढी ट्रकको संख्या रहेको छ । कूल कारबाहीमध्ये ६हजार ४७ ओटा ट्रक मात्र छन् भने अन्य सवारी संख्या ४हजार ८सय ८ मात्र छन् । ट्रकबाट मात्र ट्राफिकले ६३ लाख ८१ हजार ५सय राजस्व असुली गरेको छ, –ट्राफिक प्रहरी निरीक्षक कार्कीले भन्नुभयो । कारबाहीमा परेका ट्रक संख्या १० हजार ८सय ५५ रहेको छ । ओभरलोड र ट्राफिक नियम उलङ्घन लगायतका कारणले सबैभन्दा बढी ट्रक कारबाहीमा पर्ने गरेको ट्राफिक प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।

यस्तै ट्राफिक प्रहरीले गत ७ महिनामा २ हजार १सय २२ मोटरसाइकल कारबाहीबाट १२ लाख १७ हजार तथा बस ९सय ५३ कारबाहीबाट ५ लाख ६५ हजार ५सय राजस्व असुली गर्न सफल भएको छ । यस्तै कारबाहीमा परेका जीप ७सय २३ ओटा रहेका छन् जसबाट ४ लाख ९६ हजार ५सय राजस्व संकलन गरेको छ । भने टेक्टर ८सय १० ओटा कारबाहीमा परेका छन् । जसबाट ४ लाख ८३ हजार ५सय राजस्व उठेको ट्राफिकले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार ७ महिनामा २२ जना मापसेमा परेका छन् । जसबाट २२ हजार राजस्व असुलेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो । ट्राफिक प्रहरीहरुको सक्रियता, इमान्दारिता र पारदर्शिताले लक्ष्यभन्दा बढी राजस्व उठाउन सफल भएको ट्राफिक प्रहरी निरीक्षक कार्कीको दाबी छ । सडक नियमको उलंघन, ओभरलोड, मापसे आदि कारबाहीका मुख्य कारण भएको कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्