जात्रा जो जारी छ



संविधान निर्माण गर्न मिलेका दल अहिले आरोप प्रत्यारोपमा उत्रिएका छन्। रातदिन बाझाबाझ गर्न तम्सिएका छन्।

वादविवाद प्रतियोगितमा प्रथम हुने होडबाजी जारी छ। हरेक दिनजसो झगडा गर्न माहिर दलहरू समस्याको समाधान गर्न खासै साँचो देखाएका छैनन्। सत्ताको वरिपरि मात्र संविधान कार्यान्वयन घुमेकोघुम्यै छ। मेरो गोरुको बाह्रै टक्का भनेझैं सत्ताको स्वार्थमा अलमलिँदा संविधान कार्यान्वयन छायामा परेको छ। अहिले कांग्रेस सभापति देउवालाई छटपटी शुरू भएको धरहराले नियाल्दै आएको छ। प्रचण्ड र ओलीबीच भेट हुँदा देउवालाई छटपटी हुने।

ओली र देउवा भेट्दा प्रचण्डलाई तनाब हुने। शंकाले लंका जलाउँछ भनेझैं मुख्य दलका मुख्य नेतामा पलाएको यो शंकाले अहिले गर्नुसम्म गरेको छ। विश्वासको संकट सृजना हुँदा कसको कुर्सी कतिखेर जाने हो पत्तो नै छैन। देश र जनताका लागि काम गर्न प्रधानमन्त्री बनेको दाबी गर्नेहरूले अहिले आफ्नो कुर्सी मात्र कसरी जोगाउने पिरलोले समय बिताउने गरेको धरहराले नियाल्दै आएको छ। गणतन्त्रमा मौलाएको अराजकता भनिसाध्यै छैन्। लोकतन्त्रको नाममा फस्टाएको लुटतन्त्रकको त झन् कुरा गरी साध्यै छैन। संविधान जारी गर्नुपूर्वबाट शुरू भएको जो जात्रा अहिले पनि जारी छ। अझै जारी रहने अनुमान धरहराको छ।

प्रतिक्रिया दिनुहोस्