सुन तस्करीका नाइकेलाई नछोड



सुन तस्करीमा संलग्न भएको आरोपमा बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेसँगै निष्पक्ष छानबिन गरी तस्करीका मुख्य नाइकेसम्मलाई नियन्त्रणमा लिई कार्वाही गर्ने सवालमा सीआईबीका प्रमुख प्रहरी नायब महानिरीक्षक नवराज सिलवालमाथि भरोसा बढेको छ ।

यो घटनामा संलग्न भएको आरोपमा प्रहरीकै बहालवाला उच्च अधिकारी पक्राउ गर्नुले सुन तस्करीको सवालमा प्रहरीले भरिया मात्र पक्राउ गर्छन् र मुख्य नाइकेलाई जोगाउने गर्छन् भन्ने बारम्बार लागिरहने आरोप र आशंकालाई थोरै भए पनि हटाएको छ । घटनामा प्रहरी नायब महानिरीक्षक गोविन्द निरौला, विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटा र एयर अरेबियाका प्रमुखसमेत यो घटनाको छानबिनको घेरामा रहेको बताइएको छ । सीआईबीले सुन तस्करी काण्डको छानबिन गर्ने क्रममा तस्करीको कनेक्सन खोज्ने क्रमलाई जारी राखेको पनि जनाएको छ ।

बारम्बार सुन तस्करी भैरहने र तस्करीमा प्रायजसो प्रहरी र भन्सारका उच्च अधिकारी तथा राजनीतिक दलका उच्च नेता एवम् ठूला व्यापारीको नाम मुछिने गरे पनि अनुसन्धान प्रभावकारी हुने गरेको पाइँदैनथ्यो । अहिले प्रहरी महानिरीक्षक बन्ने लाइनमा समेत रहेका सीआईबीका प्रमुख सिलवालको नेतृत्वमा रहेको टोलीले अन्तर्राष्ट्रिय विमानस्थलबाट सजिलै बाहिरिएको ३३ किलो अवैध सुन बरामद गरेसँगै सुन तस्करीको जालो पत्ता लाग्ने क्रम जारी छ । सुन तस्करीको जालोमा संलग्न रहेका उच्च अधिकारीहरूलाई पक्राउ गर्नु र अनुसन्धानको दायरामा ल्याउनु नै ठूलो चुनौती रहेको अहिलेको परिप्रेक्ष्यमा वास्तविकता पत्ता लगाउनु फलामको चिउरा चपाउनु जत्तिकै छ ।

जतिसुकै ठूलो चुनौती भए पनि तस्करीको सम्पूर्ण जालो च्याती मुख्य नाइकेहरूलाई कार्वाही गर्नै पर्छ । यो ठूलो चुनौती भए पनि सीआईबीको लागि तस्करीका ठूला नाइके पक्राउ गरी कार्वाही गर्ने अवसर पनि छ । ठूला र प्रतिष्ठित व्यक्तिहरू तस्करीमा संलग्न भएसँगै सीआईबीमाथि राजनीतिक दबाब आउनु स्वाभाविक हुन्छ ।

तर कुनै पनि दबाब र प्रभावमा नपरी निष्पक्ष छानबिन गरेर दोषीलाई कार्वाही गर्नुपर्छ । तस्करी गर्ने जतिसुकै ठूला प्रोफाइलका र पदमा रहेका व्यक्ति भए पनि आपराधिक क्रियाकलापमा संलग्नको विपक्षमा आमजनता हुन्छन् । राजनीतिक दलका सीमिति नेताबाहेकका अधिकांश नेता पनि तस्करीको विपक्षमा नै हुन्छन् । अतः सुन तस्करीको अनुसन्धानलाई प्रभावकारी ढंगले अघि बढाई मुख्य नाइकेहरूलाई छिटोभन्दा छिटो कार्वाहीको दायरामा ल्याऊ ।

प्रतिक्रिया दिनुहोस्