प्रेमध्वज सम्मानित



लहना मिडियाले राजधानीमा एक सांस्कृतिक कार्यक्रमको आयोजना गरी ख्यातिप्राप्त गायक प्रेमध्वज प्रधानलाई विशेष सम्मान प्रदान गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, समाजसेवी लक्ष्मीदास मानन्धर र कलाकार भृगुराम श्रेष्ठले गायक प्रधानलाई दोसल्ला ओढाई सम्मान गरेका हुन्। गायक प्रधानलाई यूएफओ क्लथिङ स्टोरका तर्फबाट ५१ हजार १ सय ११ रुपियाँको चेक पनि प्रदान गरिएको थियो। प्रेमध्वज संगीत प्रतिष्ठान स्थापनार्थ यो कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था लहना मिडियाले जनाएको छ। यूएफओ भिन्तुना सनिल नाम दिइएको सांस्कृतिक कार्यक्रममा गायक प्रधानले आफूले वि.सं. २०२१⁄०२२ तिर भारत गएर रेकर्ड गराएका नेपाल भाषाका केही गीत दर्शकसामु पस्किएका थिए।

कार्यक्रममा जेम्स प्रधान, भीम तुलाधर, निशा देसार, सुरजवीर बज्राचार्य, एन्जिला सिंह, आराध्यलक्ष्मी खड्गी, सुलिन्द्र शाक्य, अन्जन श्रेष्ठ, पंकज राजोपाध्याय र भूपेन्द्र बज्राचार्य, ज्योति घिमिरे र निशान्त गौतमले गीत तथा नृत्य प्रस्तुत गरेका थिए। प्रेमध्वज प्रधानको जन्म सन् १९३८ जुन ६ मा चौतारा सिन्धुपाल्चोकमा भएको हो। नेपाली र नेपाल भाषाका दश फिल्ममा गीत गाएका प्रधान नेपाली सुगम संगीतका अग्रज कलाकार हुन्। उनले गाएका नेपाल भाषाको बालाबालाचिंगु मिखाः नेपालको गायन क्षेत्रकै पहिलो रक एन्ड रोल गीत भएको मानिएको छ।

भारतीय कलाकारहरुबाट गोल्डेन भ्वाइस अफ नेपाल विशेषण पाएका गायक प्रधानका नेपाली भाषामा ऐना नभए, गोरेटो त्यो गाउँको, घुम्तीमा नआउ है जस्ता थुप्रै गीत लोकप्रिय छन्। नेपाल भाषाको राजमती कुमति उनलाई नेपाल भाषाको गीत–संगीतमा पहिचान स्थापित गर्ने अर्को गीत हो। सम्मानपत्र प्रदान गर्दै मन्त्री शाहीले प्रेमध्वज संगीत प्रतिष्ठान स्थापनाका लागि आफ्नोतर्फबाट सक्दो पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरे। सम्मानित गायक प्रधानले अरू विधाका कलाकारहरुलाई पनि सम्मान गर्दै जाने परम्परा बसाल्नुपर्ने सुझाव दिए।

प्रतिक्रिया दिनुहोस्