संगीतमा थोरै रिस धेरै माया



गायक विनम राईले आफ्नो पहिलो गीति अडियो एल्बम प्रयासको गीतमाथि बनेको एउटा म्युजिक भिडियो सार्वजनिक गरेका छन्। एल्बम प्रयासमार्फत् नेपाली सांगीतिक क्षेत्रमा पाइला राखेका विनमले थोरै रिस धेरै माया बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन्।

उज्वल भविष्य खोज्दै सांगीतिक क्षेत्रमा प्रवेश गरेका विनमले भिडियो रिलिज गरेपछि भने– ‘प्रयासबाटै चिनिने प्रयास गरिरहेको छु।’ उनले एल्बमभन्दा पहिले यो भिडियो दर्शक तथा स्रोतालाई पस्केका हुन्। इलामबाट गायनलाई पनि सपना र करिअर बनाउने उद्देश्यले राजधानी छिरेका उनले भने– ‘आफ्नो गायन प्रतिभालाई गीति एल्बम प्रयासमार्फत् स्रोता तथा दर्शकमाझ ल्याउने प्रयास गरेको हुँ।’ सार्वजनिक गीत थोरै रिस धेरै मायामा शब्दरचना उनकै रहेको छ भने संगीत टंक बुढाथोकीले दिएका छन्।
विनमले दुई साताभित्र प्रयास सार्वजनिक गर्ने बताए। उनले भने– ‘तीनवटा गीत तयार भइसकेको छ। अब चाँडै एल्बम तयार हुन्छ।’ विनमको स्वरमा फरक किसिमको दम्भ छ। उनका स्वरलाई दर्शक तथा स्रोताले पनि रुचाएका छन्। विनम पनि आशावादी छन्। ‘गीतसंगीत क्षेत्रमा केही गरौं भनेरै आएको हुँ। केही त गर्न सक्छु भन्ने विश्वास छ’ –उनी भन्छन्।

प्रतिक्रिया दिनुहोस्